धरान । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठीबिघा (रास ताल) मा एकीकृत जिल्ला विपद् प्रतिकार्य ‘अभ्यास मनसुन–६’ सम्पन्न भएको छ ।
मनसुनको समयमा कोशी प्रदेशमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै श्री नं २ बाहिनी अड्डाको आयोजनामा सम्पन्न अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सरकारी र सरोकारवाला निकायहरूको सहभागि थिए ।
पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति गौरवकुमार केसीले गत वर्ष कोशी प्रदेशका इलाम र झापामा आएको ठूलो बाढीपहिरो तथा कोशी क्षेत्रमा देखिएको जटिल बाढीजन्य अवस्थालाई मध्यनजर गर्दै यस्ता अभ्यास समय समयमा सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले अभ्यासले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
उनका अनुसार हालको मनसुनलाई लक्षित गर्दै पूर्वी पृतना हेडक्वार्टर इटहरीमा एउटा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ । बाढीपहिरोजस्ता विपद्का समयमा त्यसलाई तत्काल परिचालन गर्न सकिने उनको भनाई छ ।
पृतनापति केसीले विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै स्थानीयवासीको सक्रिय सहभागिता, क्षमता विकास तथा पूर्वाधार निर्माणमा जोड दिए । स्थानीय तह र समुदाय सक्षम भएमा विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने उनले बताए ।
अभ्यासका क्रममा विपद् उद्धार तथा व्यवस्थापनसम्बन्धी विभिन्न सामग्री प्रदर्शन गरिएको थियो । मनसुनका बेला बाढी, डुबान, कटान तथा अन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने जोखिमलाई समयमै व्यवस्थापन गर्न र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउन अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ ।
अभ्यासका क्रममा सम्भावित विपद्का घटनाको कृत्रिम अवस्था सृजना गरी उद्धार, राहत व्यवस्थापन, घाइतेको उद्धार तथा समन्वयका विभिन्न पक्षको प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा श्री भगवती गण, श्री शिवदल गण, श्री कालीशक्ति गण, श्री सर्वभाग्य दल गण, अमरदल गण, भीमकाली गुल्म तथा नं १ विपद् व्यवस्थापन गणलगायतका विभिन्न गण तथा गुल्मका नेपाली सेनाका विपद् उद्धार टोलीको सहभागिता रहेको थियो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबेलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । रासस