भद्रपुर । झापाका पन्ध्रवटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु बिर्तामोड नगरपालिकामा देखिएको छ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा परीक्षण गरिएको रकममध्ये सबैभन्दा बढी बेरुजु बिर्तामोड नगरको देखिएको हो । सबैभन्दा कम बेरुजु भने बाह्रदशी गाउँपालिकामा देखिएको छ । बाह्रदशीमा ०.४५ प्रतिशत अर्थात् ६३ लाख ३३ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा झापाका पन्ध्रवटा पालिकामध्ये सबैभन्दा बढी ३.२२ प्रतिशत बेरुजु बिर्तामोड नगरपालिकामा देखिएको महालेखाले जनाएको छ । ३ अर्ब ३४ करोड ६० हजार रकमको परीक्षण गर्दा १० करोड ७४ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

अघिल्ला वर्षहरूमा पनि बिर्तामोड नगरपालिकामा बढी बेरुजु देखिएको थियो । बिर्तामोडपछि मेचीनगर नगरपालिकामा बेरुजु देखिएको छ । मेचीनगर नगरपालिकामा ३.१९ प्रतिशत अर्थात् १४ करोड ९९ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको हो । बढी बेरुजु रकम मेचीनगर नगरपालिकामा देखिए पनि प्रतिशतका आधारमा बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै हो ।

अन्य पालिकालाई हेर्दा कमल गाउँपालिकामा १.५७ प्रतिशत अर्थात् ३ करोड ११ लाख ९८ हजार, गौरादह नगरपालिकामा ०.७७ प्रतिशत अर्थात् १ करोड ८३ लाख ९८ हजार, दमक नगरपालिकामा ०.९१ प्रतिशत अर्थात् ४ करोड १ लाख ७९ हजार , बुद्धशान्ति गाउँपालिकामा १.३६ प्रतिशत अर्थात् २ करोड ५६ लाख ६१ हजार, भद्रपुर नगरपालिकामा १.०५ प्रतिशत अर्थात् २ करोड ४४ लाख ८० हजार, शिवसताक्षी नगरपालिकामा ०.८३ प्रतिशत अर्थात् २ करोड १८ लाख ५७ हजार, कनकाई नगरपालिकामा ०.७७ प्रतिशत अर्थात् १ करोड ७८ लाख ३७ हजार, हल्दीबारी गाउँपालिकामा १.३३ प्रतिशत अर्थात् १ करोड ९६ लाख ४९ हजार रुपैयाँ  र गौरीगञ्ज गाउँपालिकामा १.०४ प्रतिशत अर्थात् १ करोड २९ लाख ९० हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।