काठमाडौँ। वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार वैशाख महिनामा देशभर दुई हजार २ सय ९४ दुर्घटना भएकामा एक हजार २ सय ५३ दुर्घटना तीव्र गतिका कारण भएको थियो।

सो अवधिमा १ सय ३७ दुर्घटना चालकको असक्षमता, १ सय ३३ दुर्घटना हतारमा बाटो काट्नु, १ सय १२ दुर्घटना मादक पदार्थ सेवन तथा ४६ वटा दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए। दुर्घटनामा १ सय ५८ पुरुष, ५४ महिला र २७ बालबालिका गरी २ सय ३९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ। ती दुर्घटनामा परी ७ सय ५२ जना गम्भीर तथा तीन हजार २ सय २० जना सामान्य घाइते भएका छन्।

वैशाख महिनामा ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध एक लाख ३७ हजार ९४ वटा कारबाही भएको छ भने सोबापत ११ करोड ८२ लाख ७४ हजार १ सय ८९ रुपैयाँ राजस्व असुली भएको छ। सो अवधिमा भएका ती दुर्घटनामा तीन हजार ३ सय ३४ वटा सवारी साधन संलग्न भएका थिए। सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए।

साँझ ६ देखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ। सो समयमा ८ सय ५९ दुर्घटना भएका थिए। यस्तै मध्याह्न १२ देखि साँझ ६ बजेसम्म ८ सय ५०, बिहान ६ देखि मध्याह्न १२ बजेसम्म ५ सय ६ तथा मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्म ७८ वटा दुर्घटना भएको प्रहरी तथ्याङ्कले जनाएको छ।