विराटनगर । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले लागूऔषधको दुव्र्यसनले व्यक्तिलाई मात्र नभई परिवार, समाज र राष्ट्रको अर्थतन्त्रलाई नै ध्वस्त पारिरहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आइतबार विराटनगरमा आयोजित ‘लागूऔषधविरुद्धको महाअभियान–२०८३’ लाई सम्बोधन गर्दै उनले यसको नियन्त्रणका लागि अब प्रहरीको कारबाही मात्र पर्याप्त नहुने भन्दै ‘सामूहिक युद्ध’ को घोषणा गर्नुपर्ने बेला आएको उल्लेख गरे । “लागूऔषधले हाम्रा युवाहरूलाई शारीरिक, मानसिक, सामाजिक र आर्थिकरूपमा सिध्याइरहेको छ” आईजीपी कार्कीले भने, “यो निकै महँगो सोख हो, जसले परिश्रमी र कर्मशील युवाहरूलाई सडकमा पु¥याउँछ । यसलाई रोक्न अब गाउँ–गाउँ र विद्यालय–विद्यालयबाट सचेतनाको लहर उठ्नुपर्छ ।”
सम्बोधनका क्रममा आईजीपी कार्कीले विद्यार्थी र युवाहरूलाई लागूऔषधबाट टाढा राख्न ‘४–आर’ को सूत्र अघि सारे । उनले रिफ्युज, रिपोर्ट, रिएसयोर र राइट ट्रयाकलाई अभियानको मुख्य कडी बनाउनुपर्नेमा जोड दिए । “कसैले लागूऔषध अफर गरेमा सिधै अस्वीकार गर्नुहोस्, त्यसबारे प्रहरी वा अभिभावकलाई जानकारी दिनुहोस्, आफू कहिल्यै दुव्र्यसनमा नफस्ने प्रतिबद्धता जनाउनुहोस् र सधैँ सही बाटोमा हिँड्नुहोस्”–उनले युवाहरूलाई मार्गदर्शन गरे ।
विराटनगरका सीमावर्ती नाकाहरूबाट हुने लागूऔषधको ओसारपसार र बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्दै आईजीपी कार्कीले यो महाअभियानले विराटनगरमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे । “विराटनगर अब तनावका लागि होइन, ऊर्जाका लागि जाग्नुपर्छ” उनले भने, “हामीले धनकुटा, भोजपुर र दक्षिणतर्फबाट आउने गाँजा, चरेस, ट्याब्लेट र सुइहरूलाई रोक्न कडा कदम चाल्नुपर्छ ।”
बृहत् प्रभातफेरी
यसअघि आइतबार बिहान विराटनगरको महेन्द्रचोकबाट निकालिएको बृहत् प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । ‘लागूऔषधलाई नो, जीवनलाई गो’ जस्ता सचेतनामूलक नाराहरू लेखिएका प्लेकार्डसहित निकालिएको ¥याली सहिद रङ्गशालामा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न सामाजिक सङ्घ–संस्था, विद्यालय तथा कलेजका विद्यार्थी, उद्योगी, व्यवसायी र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो । आईजीपी कार्कीले लागूऔषधको उत्पादन, भण्डारण, ओसारपसार र प्रयोग गर्ने जोसुकै विरुद्ध शून्य सहनशीलता अपनाउन र प्रहरीलाई सूचना दिएर सहयोग गर्न नागरिकलाई अपिलसमेत गरे । उनले यो अभियान केवल एक दिनको औपचारिकता नभई आगामी पुस्तालाई जोगाउने महायज्ञ भएको टिप्पणी गरे ।
लागूऔषविरुद्ध टिकटक अभियान
बढ्दो लागूऔषध दुव्र्यसन नियन्त्रण र युवापुस्तामा सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालय मोरङले टिकटकलाई अभियानको माध्यम बनाउने भएको छ । ‘लागूऔषध विरुद्धको महाअभियान २०८३’ अन्तर्गत प्रहरीले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।
मोरङका एसपी कवित कट्वालले आइतबार अभियानको उद्घाटन गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै युवाहरूलाई रचनात्मक ढङ्गले लागूऔषधविरुद्धको अभियानमा जोड्न प्रतियोगिता आयोजना गरिएको बताए । “वर्तमान समयमा युवापुस्तामा सामाजिक सञ्जाल, विशेषगरी टिकटकको आकर्षण निकै छ” एसपी कटवालले भने, “त्यसैले उनीहरूलाई नै समेटेर लागूऔषधविरुद्धको सन्देश फैलाउन यो प्लेटफर्म प्रभावकारी हुने हाम्रो विश्वास छ ।”
प्रतियोगितामा सहभागी हुन चाहनेले ‘बढ्दो लागूऔषधविरुद्ध एकजुट हौँ’ भन्ने मूल सन्देशमा आधारित रहेर जनचेतनामूलक भिडियो तयार गर्नुपर्नेछ । जेठ १० गतेदेखि सुरु भएको यो प्रतियोगितामा इच्छुक सहभागीले जेठ मसान्तसम्म भिडियो बनाएर प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट हुने पाँच जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रहरीका अनुसार प्रथम पुरस्कार ५० हजार रुपैयाँ रहेको छ । दोस्रो पुरस्कार ४० हजार रुपैयाँ र तेस्रो पुरस्कार ३० हजार रुपैयाँ रहेको छ । चौथो पुरस्कार २० हजार रुपैयाँ र पाँचौँ पुरस्कार १० हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सबैका लागि खुला गरिएको छ । सहभागी हुन इच्छुक व्यक्तिहरूले आफूले तयार पारेको भिडियो जिल्ला प्रहरी कार्यालय मोरङको आधिकारिक सम्पर्क माध्यम वा प्रहरीले तोकेको डिजिटल प्लेटफर्ममा पठाउनु पर्नेछ ।
प्रहरीले यसअघि परम्परागत शैलीमा सचेतना कार्यक्रम गर्दै आए पनि यसपटक प्रविधिको प्रयोगमार्फत् धेरैभन्दा धेरै युवामाझ पुग्ने लक्ष्य राखेको छ । यो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र युवाहरूलाई कुलतबाट जोगाउन मद्दत पुग्ने अपेक्षा प्रहरीको छ ।