गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी बिरामी परेका हुन् । शनिबार बजारबाट ल्याइएको मुसुरोको दालसहितको खाना खाएपछि रातिदेखि नै बान्ता हुने तथा बेहोस हुने लक्षण देखिएको छिमेकी राधाले बताइन् । बिरामी परेका सबैलाई आफन्त र छिमेकीले उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएका थिए । जिल्ला अस्पताल उदयपुरका अनुसार योगेश, यासिका र यशोदाको उपचारपछि घर फर्किएका छन् तर हेमा बुढाथोकीको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि विराटनगर रेफर गरिएको अस्पतालका प्रमुख डा. मुकेश झाले जानकारी दिए । हेमाका श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् । घरमा हेमा, उनका छोरा र नन्दहरू सँगै बस्दै आएका थिए । रासस