किमाथाङ्का । सङ्खुवासभा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिइन् ।


आइतबार सुत्केरी व्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना भएकी मगरको सोमबार जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत नवजात शिशु निकालिएको थियो । यसक्रममा उनको अत्यधिक रक्तश्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पतालका प्रमुख डा. सन्तोश देवले भने, “मगरलाई अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत काठमाडौँ थापाथलीस्थित प्रसूति गृहमा पठाइएको छ । ” सुत्केरी मगरलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो । रासस