विजयपुर । झापा र मोरङका विभिन्न स्थानबाट चार जना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये काठमाडौँका दुई जना, दमकका एक जना र धरानका एक जना छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा इकाईको संयुक्त टोलीले भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका काठमाडौँ महानगरपालिका–२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय सुशील मानन्धरलाई १२ ग्राम ४ सय ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यस्तै, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–५ का २३ वर्षीय तुलसी माझीलाई ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ बाट धरान–१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।