विराटनगर । विराटनगर–१६ सैनिक टोलमा वर्षौंदेखि बसोबास गर्दै आएको एक परिवारले आफूहरूलाई उठिबास लगाउन खोजिएको बताएका छन् ।
४६ वर्षीय वेचकुन मण्डल र उनका दाजु कैलाश मण्डलको परिवारले विराटनगर–१७ का प्रशुराम साहले शक्तिको आडमा आफूहरूलाई विस्थापित गर्न लागेको आरोप लगाउँदै न्याय मागेका हुन् ।
मण्डल परिवारका अनुसार उनीहरूका हजुरबुबा मनीलाल र बुबा सीताराम मण्डल २०३३ सालदेखि नै नारायणप्रसाद कोइरालाको जग्गामा बस्दै आएका थिए । कोइराला परिवारको खेतीपाती स्याहारेबापत उनीहरूले सो स्थानमा बसोबासको अनुमति पाएका थिए । कित्ता नं. १८०० को १२ धुर जग्गामा तीनवटा टहरा बनाएर कैलाश र वेचकुनको परिवार बस्दै आएका छन् ।
मण्डल परिवार पुस्तौंदेखि सोही जग्गामा बसोबास गरिरहेको जानकारी हुँदाहुँदै प्रशुराम साहले २०६९ सालमा नारायण कोइरालासँग उक्त जग्गा खरिद गरेका थिए । साहले कति रकममा जग्गा खरिद गरेका हुन् भन्ने विषय भने खुलाउन चाहेनन् ।
जग्गा खरिद गरेलगत्तै साहले मण्डल परिवारलाई प्रतिवादी बनाएर २०७० सालमा ‘घर हटाई चलन चलाई पाऊँ’ भन्दै मुद्दा दायर गरेका थिए । जिल्ला र पुनरावेदन (उच्च) अदालत हुँदै उक्त विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्च अदालतका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले गत १५ फागुन २०८१ मा साहको पक्षमा फैसला गरेको थियो । अदालतले कित्ता नं. १८०० को जग्गा वादी साहले चलन चलाउन पाउने ठहर गर्दै सोही बमोजिम लगत राखी कार्यान्वयन गर्न आदेश दिएको छ ।
यद्यपि, फैसलामा एउटा सर्त उल्लेख छ— प्रतिवादीहरू बसोबास गर्दै आएको घर ‘पाताल’ (पूर्ण रूपमा ध्वस्त) नभएसम्म उनीहरूलाई सो स्थानबाट हटाउन नपर्ने, तर उनीहरूले उक्त घर थप मर्मतसम्भार गर्न नपाउने ।
अदालतको आदेशलगत्तै डोजर
सर्वोच्चको फैसलापछि साहले वैशाख ३ गते सो जग्गामा डोजर चलाएका थिए । त्यस क्रममा मण्डल परिवारका तीनमध्ये दुईवटा टहरा भत्काइएका छन् । सोही क्रममा भएको विवादमा अज्ञात समूहले डोजरको सिसा फुटाइदिएपछि स्थिति थप तनावपूर्ण बनेको थियो ।
घटनापछि जेठ ६ गते साहले प्रहरी लगाएर वेचकुन मण्डल, कैलाश मण्डल र उनकी पत्नी कुन्ती मण्डललाई वडा प्रहरी कार्यालय विराटनगर झिकाएका थिए । त्यहाँ सहमति नभएपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइयो । साहलाई हातपात गरेको आरोपमा प्रहरीले उनीहरूविरुद्ध ‘अभद्र व्यवहार’ को मुद्दा चलाएको छ ।
मण्डल परिवारका ज्वाइँ पवन रायका अनुसार वैशाख ८ गते उनीहरूलाई आवश्यक परेका बेला उपस्थित हुने सर्तमा हाजिर जमानीमा छाडिएको छ । “अहिले परशुरामले धम्काउने गरेका छन्” रायले भने, “बाँकी रहेको घर खाली गरे मुद्दा फिर्ता लिने र डोजरको क्षतिपूर्ति नमाग्ने सर्त राखिरहेका छन् । नत्र ८० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने धम्की दिइएको छ ।”
वेचकुन र कैलाशका गरी १५ जनाको परिवार सोही स्थानमा बसोबास गर्दै आएका थिए । घर भत्किएपछि अहिले उनीहरूको बिचल्ली भएको छ । “वर्षौंदेखि बसोबास गर्दै आएको टहरा भत्किएपछि अहिले हामी घरविहीन भएका छौँ” वेचकुन मण्डलले भने, “अहिले टेन्ट राखेर बसेका छौँ । दाजुको परिवार भाडाको घरमा शरण लिन पुगेका छन् । आफ्नो घर पनि तोडियो, अहिले आफैँलाई प्रहरीमा लगेर थुनाए । हामी गरिबहरूलाई किन यति धेरै दुःख दिएको होला ?”
यता, परशुराम साहले भने अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा आफूमाथि आक्रमण भएको दाबी गरेका छन् । आफूले मण्डल परिवारलाई विकल्पसमेत दिएको उनको जिकिर छ । “उनीहरूले अहिलेको घर छाडेर गए भने म विराटनगर–१२ दरैयामा रहेको ६ धुर जग्गा र थप ११ हजार रुपैयाँ दिन तयार छु” साहले भने, “कसैलाई उठिबास लगाउने मेरो कुनै मनसाय छैन, म केवल अदालती फैसला कार्यान्वयन होस् भन्ने चाहन्छु ।”