विजयपुर । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका कर्मचारीलाई अतिरिक्त सुविधा दिएको विषयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले यथार्थ सार्वजनिक गर्न माग गरेको छ । 

स्ववियुले क्याम्पस प्रशासनले गैरजिम्मेवारपूर्ण कार्य गरेको आरोप लगाउँदै यथार्थ सार्वजनिक गर्न ध्यानाकर्षण गराएको हो । स्ववियु अध्यक्ष प्रशान्त राई र सचिव पवन बस्नेतद्वारा हस्ताक्षरित पत्रमा ‘क्याम्पसभित्रका विभिन्न बेथितिहरू औँल्याउँदै २ दिनभित्र लिखित स्पष्टीकरण र समस्या समाधान गर्न माग’ गरिएको छ ।

स्ववियुले क्याम्पस स्थापनाकालदेखि नै विद्यार्थीहरूको हकहितका लागि कार्य गर्दै आएको स्मरण गराउँदै चार बुँदे माग गरेको हो । क्याम्पस प्रशासनले कार्यालय एक घण्टाको अतिरिक्त सेवाबापतको अतिरिक्त तलब प्रदान गर्दै आएकोबारे स्पष्टीरकण मागेको छ । यता क्याम्पस प्रशासनले भने त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को निर्देशनअनुसार कर्मचारीहरूलाई सेवासुविधा दिँदै आएको स्पष्ट पारेको छ । परिषद्ले दिएको निर्देशनको आधिकारिकताका विषयमा पनि स्ववियुले स्पष्ट पार्नुपर्ने उल्लेख गरेको छ ।