धरान । क्यानाडाको ब्रिटिस कोलम्बियामा बसोबास गर्ने किरात राई समुदायले पहिलोपटक सामूहिक रूपमा उँभौली पर्व मनाएका छन् । स्थानीय बेयर क्रिक पार्कमा साकेला सिली प्रदर्शनसहित पर्व मनाइएको हो ।

कार्यक्रममा किराती तथा गैरकिराती गरी सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको आयोजकले जनाएको छ । सामुदायिक पहलमा आयोजना गरिएको कार्यक्रममा साकेला सिली प्रदर्शनलाई मुख्य आकर्षणका रूपमा राखिएको कार्यक्रम संयोजक सञ्जय याक्खाले जानकारी दिए ।

याक्खाका अनुसार विदेशमा अध्ययन र कामको व्यस्तताबीच पनि आफ्नो संस्कृतिको संरक्षण गर्ने उद्देश्यले साथीभाइ मिलेर कार्यक्रम आयोजना गरिएको हो । सहभागीहरूले व्यक्तिगत रूपमा रकम सङ्कलन गरी साकेला नाचमा प्रयोग हुने बाजागाजा नेपालबाट ल्याएका थिए ।

कार्यक्रममा ज्येष्ठ किराती अभिभावक अरुण राईलाई फेटा लगाएर सम्मान गरिएको थियो । उनकै हातबाट ढोल खोली कार्यक्रमको शुभारम्भ गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा किरात राई यायोक्खाका पूर्व महासचिव सोमा राई लाई ‘सांस्कृतिक जागरण योद्धा’ का रूपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा ब्रिटिस कोलम्बिया विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत अनुदिप देवान र रिस्ता राईले साकेला सिलीको महत्व र यसको सांस्कृतिक पक्षबारे जानकारी गराए ।