भद्रपुर । झापाको बाह्रदशीमा केही दिनअघि ट्याक्टरबाट लडेर घाइते भएका एक श्रमिकको उपचारका क्रममा मृत्यु भएको छ ।
ट्याक्टरमा काम गर्ने स्टाफ बाह्रदशी–३ का ३३ वर्षीय शिवलाल हेमरम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले दिएको घटना विवरणअनुसार यही जेठ १० गते दिउँसो १२ बजे बाह्रदशी–३ स्थित गणेश गिरीको घरआँगनमा मे. १ त ६२६८ नम्बरको ट्याक्टरमा बालुवा अनलोड गर्ने क्रममा सोही ट्याक्टरमा काम गर्ने हेमरम ट्याक्टरबाट अचानक लडेर घाइते भएका थिए । पेटमा चोट लागेका घाइते हेमरमलाई स्थानीय मेडिकल राजगढमा लगी उपचार गराउँदा चोट सामान्य भई डिस्चार्ज गरिएको थियो ।
त्यसपछि जेठ १२ गते उनलाई दुखाइ बढेपछि थप उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा बुधबार राति १२ः२५ बजे मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगर लगिएको छ । ट्याक्टर चालक बाह्रदशी गाउँपालिका–२ घर भई वडा नं. ३ बस्ने लख्खीराम टुडु प्रहरी नियन्त्रणमा रहेको प्रहरी कार्यालयले जनाएको छ ।