काठमाडौँ । देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल सवारीसाधनको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ ।
चालु आवको फागुन मसान्तसम्म मात्रै दुई लाख ८१ हजार ९२१ वटा सवारीसाधन दर्ता भएका थिए । दर्ता भएका सवारीसाधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल छन् ।
यसैगरी, फागुन मसान्तसम्म ४१ लाख १४ हजार १८१ वटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी भएको छ । त्यसमध्ये चालु आवको आठ महिनासम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र जारी भएको छ ।
चालु आवको प्रथम आठ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन् । तीमध्ये पाँच हजार १८६ थान जडान गरिएको छ ।
गत फागुन मसान्तसम्म कुल आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा ८८ हजार ३४० थान जडान भएका छन् । इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ अनुसार नम्बर प्लेट जडान भइरहेको छ । रासस