विजयपुर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीको चाप व्यवस्थापन गर्न ओपिडी काउन्टर थपेको छ ।
सरकारले आइतबारको बिदा दिएको र निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि विरामीको संख्या बढ्ने भएकाले प्रतिष्ठानले ओपीडी पुर्जा वितरणका लागि १७ वटा काउन्टर थप्ने भएको हो ।
प्रतिष्ठानका निमित्त उपकुलपति डा. ईन्द्र लिम्बुका अनुसार स्वास्थ्य बीमामार्फत सेवा लिने विरामीका लागि जीओडी भवनमा १२ वटा काउन्टर सञ्चालन गरिनेछ । यस्तै, स्वास्थ्य बीमा नभएका तथा शुल्क तिरेर सेवा लिने सेवाग्राहीका लागि थप ५ वटा काउन्टर सञ्चालन गरिनेछ ।
प्रतिष्ठानका अनुसार पछिल्ला दिनहरूमा विरामीको चाप बढ्दै गएको छ भने लामो बिदापछि सोमबार सेवाग्राहीको संख्या झनै वृद्धि हुने प्रतिष्ठानले जनाएको छ । विरामीको सहजता र सेवा प्रवाहलाई व्यवस्थित बनाउन प्रतिष्ठानले काउन्टर थप गरेको हो ।
सरकारको निर्णयअनुसार प्रतिष्ठानमा दुई दिन साप्ताहिक बिदा लागू भएपछि सेवा लिन आउने विरामीको चाप उल्लेखनीय रूपमा बढेको छ । गत साता मात्रै एकै दिन ४ हजार २ सयभन्दा बढी विरामीले प्रतिष्ठानबाट सेवा लिएको प्रतिष्ठानले जनाएको छ ।
निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि बीपी प्रतिष्ठानमा उपचारका लागि आउने विरामीको संख्या अझ बढ्नेछ । प्रतिष्ठानले सोमबार मात्रै ५ हजारभन्दा बढी विरामी ओपिडी सेवाका लागि आउने प्रक्षेपण गर्दै आवश्यक जनशक्ति तथा सेवा व्यवस्थापनको तयारी पूरा गरेको जनाएको छ ।
भर्ना भएका विरामीलाई सहज सेवा उपलब्ध गराउन सम्बन्धित वार्डमै छुट्टै काउन्टर सञ्चालन गर्ने व्यवस्था समेत मिलाइएको छ ।