विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि भव्य अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ  ।

आइतबार विराटनगरको सिटी पार्टी प्यालेसमा आयोजित विशेष समारोहका बीच कलेजले विज्ञान संकायमा भर्ना भएका १३ सय ३५ जना विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक मार्गनिर्देशन गराएको हो  । कार्यक्रममा कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो  । प्रवेश परीक्षामा ९९ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुने शुभम झा, ९८ प्रतिशतसहित द्वितीय हुने स्नेहा वस्ती र ९४ प्रतिशत अङ्क ल्याएर तृतीय हुने शशिन खतिवडालाई कलेजले सम्मान गरेको छ  । साथै, प्रवेश परीक्षाका ‘टप टेन’ भित्र पर्न सफल अन्य विद्यार्थी र माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ’४ जीपीए’ ल्याएर शिक्षादीप रोज्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरियो  ।

अभिमुखीकरणलाई सम्बोधन गर्दै शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कक्षा ११ र १२ को दुई वर्षको अवधिलाई विद्यार्थीको जीवनकै ‘निर्णायक मोड’ (टर्निङ पोइन्ट) का रूपमा व्याख्या गरे  । उनले यो समयलाई सही सदुपयोग गर्न सके मात्रै भविष्य उज्ज्वल हुने र अभिभावकको सपना पूरा हुने बताए  । “प्लस टूलाई हामीले प्रि–युनिभर्सिटीका रूपमा लिएका छौँ  । यो दुई वर्ष जसले कडा मेहनत गर्छ र स्पष्ट सपना देख्छ, उसैको भविष्य सुन्दर हुन्छ,’’ प्रिन्सिपल खड्काले भने, “तपाईँहरूका पछाडि बुबाआमाको ठुलो लगानी र भरोसा छ  । बिहानै उठेर खाजा बनाइदिने र लुगा व्यवस्था गरिदिने ती हातहरूको सम्मानका लागि पनि तपाईँहरूले उत्कृष्ट नतिजा ल्याउनुपर्छ  ।”

उनले विद्यार्थीहरूलाई १० वर्षपछिको आफ्नो अवस्था कस्तो होला भनेर अहिले नै सोच्न र योजना बुन्न आग्रह गरे । “आजको १० वर्षपछि तपाईँ कस्तो गाडीमा चढ्ने, कस्तो घरमा बस्ने र आफ्ना बुबाआमालाई कसरी सुख दिने भन्ने कुरा आजैको मेहनतमा भर पर्छ” उनले थपे, “यदि यो दुई वर्ष अल्छी गर्नुभयो वा शिक्षक र अभिभावकलाई ढाँट्नुभयो भने, त्यो अरूलाई होइन, आफ्नै भविष्यलाई धोका दिएको ठहरिनेछ  ।” उनले सफलताका लागि अनुशासनलाई अनिवार्य सर्तका रूपमा औँल्याए  ।

कार्यक्रममा कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री एवं कलेजका अध्यक्ष भीम पराजुलीले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै गुणस्तरीय शिक्षाका लागि कलेज प्रतिबद्ध रहेको बताए  । प्रसिद्ध उत्प्रेरक (मोटिभेटर) डा. मिलन गैरेले विद्यार्थीहरूलाई शैक्षिक लक्ष्य कसरी प्राप्त गर्ने र तनाव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा उत्प्रेरणा जगाएका थिए । कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू दिए । यस वर्ष कलेजको विज्ञान संकायमा मात्रै १ हजार ३ सय ३५ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।