विराटनगर । यहाँस्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कलेजले शनिबार र आइतबार गरी दुई चरणमा विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । कार्यक्रममा यस शैक्षिक सत्रमा भर्ना भएका एक हजार दुई सय ५३ जना विद्यार्थी सहभागी थिए । कलेजका अनुसार शनिबार ‘बायो ग्रुप’ का विद्यार्थीहरूका लागि कार्यक्रम गरिएको थियो भने आइतबार कम्प्युटर विज्ञानका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूलाई उत्प्रेरणा जगाउन र शैक्षिक लक्ष्य निर्धारणका लागि उत्प्रेरक डा. तारा गिरीले सहजीकरण गरेका थिए । उनले विद्यार्थीहरूलाई बदलिँदो परिवेशमा कसरी सफल हुने र अध्ययनलाई रुचिपूर्ण कसरी बनाउने भन्नेबारे प्रशिक्षण दिएका थिए । सोही अवसरमा कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार समेत वितरण गरेको छ । ३.९१ जीपीए ल्याउने विद्यार्थी जेभी प्रवीणलाई ‘राजबहादुर तथा कमला कुँवर छात्रवृत्ति’ प्रदान गरियो ।

त्यस्तै कलेजको प्रवेश परीक्षामा उत्कृष्ट हुने सुयोग पोखरेल, प्रिन्स मण्डल, द्वितीय हुने कुलानन्दकुमार यादव र तृतीय हुने रोहितकुमार साहलाई पूर्ण छात्रवृत्तिसहित सम्मान गरिएको छ ।

विद्यार्थीहरूलाई कदरपत्र तथा पुरस्कार वितरण गर्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरूलाई भयरहित र अनुशासित वातावरणमा अध्ययन गर्न आग्रह गरे । “लगनशीलता नै सफलताको कडी हो” उनले भने, “विद्यार्थीको क्षमता प्रस्फुटनका लागि कलेजले सधैं उपयुक्त मञ्च र वातावरण प्रदान गर्नेछ  ।” कलेजका संयोजक विकास खनालले कलेजका नियम, अनुशासन र विद्यार्थीहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रस्ट पारेका थिए । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले गायन तथा नृत्य प्रस्तुत गरे ।