झापा । शिवसताक्षी नगरपालिका–४, फुलचोकस्थित ‘झापा इनर्जी प्लान्ट’ मा आगलागी हुँदा करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार प्लान्टमा भएको आगलागीका कारण विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट भएका छन् । सो इनर्जी प्लान्ट शिवसताक्षी नगरपालिका–९, दुधे बस्ने ५० वर्षीय लालप्रसाद साँवाको स्वामित्वमा रहेको छ ।
प्रहरी टोली, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको उनले बताए । आगलागी भएको स्थान इलाका प्रहरी कार्यालय शिवगञ्जबाट करिब पाँच किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस