विजयपुर । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिविरुद्ध धरानमा विरोध प्रदर्शन गरिएको छ ।


आइतबार संसदमा सांसदहरूले भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न सडक निर्माणलगायत कार्य गरेको विषयमा उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै धरानमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सुकुम्बासी, विभिन्न राजनीतिक दल तथा नागरिक समाजको सहभागिता रहेको थियो । विरोधका क्रममा प्रधानमन्त्री शाहको तस्बिर पनि जलाइएको थियो ।


धरान–१ स्थित छाताचोकबाट सुरु भएको प्रदर्शन भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता चन्द्र भुजेलले उक्त अभिव्यक्तिले ३ करोड नेपालीको स्वाभिमानमा चोट पुगेको बताए । उनले देशको भूमि फिर्ता गर भन्ने प्रश्नको जवाफमा “हामीले पनि भूमि मिचेका छौँ” भन्ने अभिव्यक्ति गैरजिम्मेवार रहेको टिप्पणी गरे । उनले प्रधानमन्त्री शाह राष्ट्रघाती भएको दाबी गरे । उनले भने, “सुल्फे प्रधानमन्त्रीले गाजा खाएको भरमा बोलेको हुनुपर्छ ।”


नेपाली कम्युनिष्ट पार्टीका नेता चोत्लुङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रहित विपरीत र गैरजिम्मेवार भन्दै फिर्ता लिनुपर्ने माग गरे । उनले काठमाडौँको मेयर हुँदा ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्ने नेताले अहिले कार्यकारी प्रधानमन्त्रीको रूपमा राष्ट्रघाती अभिव्यक्ति दिनु दुखद भएको बताए । उनले नेपाली भूमिबाट भारतीय सेना हटाउन माग गरे । उनले प्रधानमन्त्री शाहले नेपालको राष्ट्रियता कमजोर पार्ने काम गरेको बताउँदै भने, “सबै एकजुट हुनुपर्छ । त्यसका विरुद्ध बोल्नुपर्छ ।” उनले अन्तर्राष्ट्रिय शक्तिको खेलमैदान बनाउने प्रयास भइरहेको बताए । उनले सुकुम्बासी घर भत्काएको विषयमा आपत्ति प्रकट गरे । उनले सरकारले ५० युनिटमाथि विद्युत महसुलमा लगाएको मूल्य अभिवृद्धि कर फिर्ता लिन आग्रह गरे । नेपाल बसोबासी समाज संरक्षण समाजका अध्यक्ष कुमार कार्कीले सुकुम्बासी बस्ती भत्काइएको विषयमा आपत्ति जनाउँदै गरिब जनताको घरजग्गा संरक्षण गर्नुपर्ने बताए । उनले लालपुर्जा वितरण गर्न माग गर्दै सरकारको नीतिको आलोचना गरे । उनले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।


प्रदर्शनकारीहरूले “बालेन्द्र सरकार मुर्दावाद”, “राष्ट्रघाती सरकार चाहिँदैन”, “गैरजिम्मेवार अभिव्यक्ति फिर्ता गर”, “बालेन्द्र सरकार हत्यारा”, “बालेन्द्र शाह बादशाहकी तानाशाह”, “राष्ट्रघाती सरकार चाहिँदैन”, “रेमिट्यान्स लियौ, भोट लियौ, उपहार स्वरूप बस्तीमाथि डोजर दियौ”, “राष्ट्रघाती सरकार मुर्दावाद”,“बालेन्द्र गैरजिम्मेवार अभिव्यक्ति मुर्दावाद” लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।

WhatsApp Image 2026-06-01 at 7.37.20 PM

WhatsApp Image 2026-06-01 at 7.37.22 PM


WhatsApp Image 2026-06-01 at 7.37.28 PM

WhatsApp Image 2026-06-01 at 7.37.30 PM