भद्रपुर । बोरामा हालेर रतुवा पुलमाथिबाट फालेकी रमा तिवारीको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा हत्याराको पहिचान भइसकेको र हत्याराको नजिक पुगिसकेको जनाइएको छ । शव फेला परेको भोलिपल्ट अर्थात् आइतबार शवको पहिचान भएर सनाखत भइसकेपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दमक वडा नं. ८ वसन्त टोल बस्ने नारायण तिवारीकी छोरी वर्ष २१ की रोमा भन्ने रमा तिवारीको आइतबार परिवारले सनाखत गरेको प्रहरीले जनाएको छ । रमा तिवारी जेठ १३ गते राति साढे ९ बजे घरबाट आफूखुसी हिँडपछि घर फर्किएकी थिइनन् । उनी त्यति धेरै घरमा बस्ने नगरेको बुझिएको छ । उनका साथी सङ्गतबाटै घटना भएको हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।
शनिबार बिहान ११ बजे दमक–१० स्थित सेतुमारी पुलमुनि रमाको शव फेला परेको थियो । बोरामा बाँधेर रतुवा खोलाको पानीमा फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको कपाल र हात बोराबाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको थियो ।
सेतुमारीमा रहेको रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा २–३ दिन अगाडिदेखि पानीले ढाडिएको, रातो भेस्ट, जिन्सको पेन्ट लगाएको शव सेतो प्लाष्टिकको बोरामा पोको पारी शङ्कास्पद अवस्थामा फेला परेको थियो ।
पाइपले घाँटीमा कसेर उनको हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । उनको घाँटीमा पाइपले कसेको चिन्ह रहेको प्रहरीले जनाएको छ ।
उनको शव बगेर आएको नभई हत्या गरेर रतुवाको पुलमाथिबाट फालेको हुनसक्ने आशङ्का गरिएको छ । पुलमाथिबाट फाल्दा बोरा फुटेर हात र कपाल बाहिर निस्किएको हुनसक्ने अनुमान गरिएको छ ।