काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।
मंगलबार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बाँस्तोला (कास्की) लाई नियुक्त गर्ने निर्णय गरेको छ । समितिका सदस्यहरूमा अमिरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मिनी सोती (लमजुङ) र डा. रेहना श्रेष्ठ (काठमाडौँ) नियुक्त गरिएको जनाइएको छ ।
सरकारले संयुक्त राष्ट्रसङ्घ वातावरणीय कार्यक्रम (युएनइपी) बाट ओजोन तहलाई हानि पुऱ्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोंट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने समेत निर्णय गरेको छ । बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । रासस