सुनसरी । बोरामा बाँधिएको अवस्थामा शव भेटिएकी झापाको दमक नगरपालिका–८ वसन्त टोलकी रमा तिवारी हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ परेको पुष्टि गरे पनि आरोपित व्यक्तिको पहिचान खुलाएको छैन । घटनाको अनुसन्धान भइरहेकाले पनि औपचारिक रूपमा सार्वजनिक गर्न नमिल्ने जनाएको छ । ती पुरुष रमाको केटा साथी रहेको जनाइएको छ । परिवारको भनाइ उद्धृत गर्दै प्रहरीका अनुसार उक्त युवाले घटना हुनुभन्दा अघिल्लो रात फोन गरी बोलाएका थिए । फोन गरी बोलाएपश्चात् रमा परिवारलाई जानकारी गराई घरबाट गएको जनाइएको छ । 

तर, भोलिपल्ट उनको शव बोरामा बाँधिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । पहिचानसमेत नखुलेका कारणले गर्दा प्रहरीले कोशी प्रदेशका अन्य प्रहरी निकायहरूमा पनि सम्पर्क गरेको थियो । प्रहरीले यस घटनालाई अनुसन्धान गर्दै जाँदा रमाको पहिचान खुलेको थियो । परिवारका सदस्यहरूले नै रमाको शव पहिचान गरेपछि अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको छ । 

अहिले प्रहरीले घटनाबारे थप प्रमाण सङ्कलनको क्रममा रहेको जनाएको छ । पक्राउ परेका ती युवा रमासँग लामो समयदेखि साथीका रूपमा रहेका थिए । तर ती युवा लागूऔषध दुव्र्यसनमा फसेका कारण उनलाई एक सुधार गृहमा राखिएको थियो भने उनी जेठ १३ गते मात्रै सुधार केन्द्रबाट बाहिरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मोबाइलको सम्पर्क विवरण, घटनास्थलमा भेटिएको विवरणका आधारमा हाल अनुसन्धान गरिरहेको जनाइएको छ । हत्या के कति कारणले भएको हो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवतीको शव रतुवा खोलामा भेटिएको थियो । घटना नियोजित हो या के हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाइरहेको अवस्थामा केटा साथीलाई प्रहरीले पक्राउ गरिसकेको बुझिए पनि जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले हालसम्म कोही पक्राउ नपरेको जनाए । 

अनुसन्धानका लागि सोध्ने बुझ्ने काम हुँदैमा त्यसलाई पक्राउ भन्न नमिल्ने उनले जनाए ।