दमक–१० की २१ वर्षीया रमा तिवारीको हत्या र शवलाई बोरामा बाँधेर रतुवा खोलामा फालिएको घटनाले समाजलाई स्तब्ध बनाएको छ । एक युवतीको यस्तो निर्मम हत्या हुनु केवल एउटा आपराधिक घटना मात्र होइन, हाम्रो समाजको सुरक्षा, कानूनी शासन र मानव संवेदनामाथिको गम्भीर चुनौती पनि हो । प्रहरीका अनुसार घटनाको अनुसन्धान तीव्र रुपमा अगाडि बढिरहेको भने पनि यस्ता गम्भीर अपराधका घटनाको यथार्थ पहिचान गर्न प्रहरीले ढिलाइ गर्नु हुँदैन । अनुसन्धानलाई थप प्रभावकारी बनाएर दोषीलाई तत्काल कानूनी दायरामा ल्याउनु राज्यको पहिलो जिम्मेवारी हो । अपराधी पक्राउ नपर्दासम्म पीडित परिवारले न्यायको अनुभूति गर्न सक्दैन, न त समाजमा फैलिएको त्रास नै अन्त्य हुन्छ । त्यसैले प्रहरीले यस्ता गम्भीर प्रकृतिका घटनामा अनुसन्धान र खोजी कार्य तीव्र बनाउनु जरूरी छ । 

रमाको शव फेला परेको अवस्था अत्यन्तै भयावह थियो । बोरामा बाँधेर खोलामा फालिनु, घाँटीमा कसिएको चिन्ह देखिनु र प्रमाण लुकाउने प्रयास गरिनुले यो योजनाबद्ध अपराध हुनसक्ने सङ्केत गर्दछ । यस्ता घटनामा ढिलासुस्ती वा प्रभावका आधारमा अनुसन्धान प्रभावित भए जनविश्वासमाथि गम्भीर आघात पुग्ने कुरामा पनि नेपाल प्रहरी सचेत हुनु जरूरी छ । यस घटनाले युवापुस्ताको सुरक्षा, साथीभाइको सङ्गत, सामाजिक निगरानी र अपराध नियन्त्रणका विद्यमान संयन्त्रबारे पनि गम्भीर प्रश्न उठाएको छ । यदि वास्तवमै चिनजान वा निकट सम्बन्धकै व्यक्तिहरु संलग्न छन् भने यो झन् चिन्ताजनक विषय हो । समाजभित्र बढ्दै गएको हिंसात्मक प्रवृत्तिलाई समयमै नियन्त्रण गर्न राज्यका निकाय थप सचेत हुनुपर्दछ । यो घटना केवल एउटी २१ वर्षीया युवतीको जीवन समाप्त पारिएको विषय मात्र होइन, यो भोलि हाम्रा छोरी, दिदीबहिनी कोही पनि सुरक्षित छैनन् भन्ने डरलाग्दो सन्देश पनि हो ।

रमा तिवारीको परिवार अहिले शोकमा मात्र होइन, न्यायको प्रतीक्षामा पनि छ । न्याय केवल अपराधी पक्राउ गरेर मात्र पूरा हुँदैन, घटनाको वास्तविकता सार्वजनिक हुनु, दोषीले कानूनबमोजिम सजाय पाउनु र यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिनु पनि उत्तिकै आवश्यक विषय हो । वर्षौंसम्म अदालतको चक्कर काट्नुपर्ने नेपालको सुस्त न्याय प्रणालीले पीडित परिवारको पीडालाई झन् बल्झाउने गर्छ । रमा तिवारीको केसलाई ‘फास्ट ट्र्याक’ मा राखेर द्रुत गतिमा फैसला सुनाइनु पर्दछ । ता कि अपराधीले सजाय पाएको समाजले तत्काल देख्न सकोस् र अपराधीहरुमा डर पैदा होस् । त्यसैले रमा तिवारी हत्याकाण्डको निष्पक्ष, तथ्यपरक र द्रुुत अनुसन्धान गरी दोषीलाई कानूनी कठघरामा उभ्याउन सम्बन्धित निकायमाथि जनताको अपेक्षा र दबाव अपरिहार्य छ । न्यायमा ढिलाइ हुनु भनेको पीडित परिवारमाथि अर्को अन्याय गर्नु हो भन्ने कुरा राज्यले बुझेर दोषीलाई खोजी गरी कानूनी कारबाहीको दायरामा ल्याउनु पर्दछ ।