भद्रपुर । तयारी चिरान काठसहित सशस्त्र प्रहरीले पिकअप र दुईजना पिकअप स्टाफलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा इलाम देउमाई–८ जितपुर बस्ने २४ वर्षीय साजन मगर (चालक) र देउमाई –९ जितपुर बस्ने ४० वर्षीय सरोज कट्टेल (सहचालक) लाई तयारी चिरान काठसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल गण २ नं. झापाले जनाएको छ ।

प्रहरीले दिएको विवरणअनुसार मङ्गलबार बिहान ७ बजे अर्जुनधारा नगरपालिका–३ स्थित नेपाल डाँडा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको सशस्त्र वरिष्ठ सइ अमरबहादुर भुजेलको कमाण्डमा ९ जनाको गस्ती टोलीले इलामबाट झापातर्फ आउँदै गरेको मे.१ ज ११७८ नं. को बोलेरो पिकअपलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा काठ बरामद गरेको हो । 

स्थानान्तरण इजाजतपत्र विनाको अन्दाजी मूल्य २ लाख ३२ हजार २ सय ३८ बराबरको ५१ थान तयारी झ्यालको पल्ला, ढोकाको चौकट, कुर्सी र टि–टेबुल बरामद गरेको गणका डिएसपी सुमन पोखरेलले पुष्टि गरे । बरामद गरिएका सामानमा झ्यालको चौकट ६ थान, ढोकाको चौकट ६ थान, झ्यालको पल्ला २४ थान, कुर्सी १४ थान र टि–टेवल १ थान रहेको उनले जनाए ।

१० लाख बराबरको बोलेरो पिकअप गरि जम्मा १२ लाख ३२ हजार २ सय ३८ बराबरको पिकअप, तयारी चिरान काठ र दुई व्यक्तिसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि कनकाई सव–डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाइएको पाखरेलले जनाए ।