धनकुटा । कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीले नीतिगत समस्याका कारण वनमा रहेका काठको उपयोग गर्न समस्या रहेको बताएका छन् ।
सोमबार सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल जिल्ला महासङ्घ धनकुटाले महासङ्घको ३१ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको सामुदायिक वन सचेतना कार्यक्रममा मन्त्री पराजुलीले यस्तो बताएका हुन् । उनले भने, “प्रदेश सरकारमा वनसम्बन्धी कानून र विभिन्न नीतिगत समस्याका कारण सामुदायिक वनमा रहेका काठ उपभोग गर्न कठिनाइ रहेको छ ।”
सामुदायिक वनलाई उत्पादन र रोजगारीसँग जोड्नु पर्ने हुँदा त्यसलाई प्रदेश सरकारले सहयोग गर्ने बताए । कोशी प्रदेशमा अधिकतम् अनिवार्य काठ उपयोग गर्नुपर्ने योजना बनाएको हुँदा आर्थिक पाटो पनि बलियो हुने उनको भनाइ थियो ।
सामुदायिक वन जोगाउनमा पहिलो अधिकार समुदायको भएको बताउँदै मन्त्री पराजुलीले भने, “त्यसमा पनि आदिवासी जनजातिहरूको परम्परागत ज्ञान र सीपमा आधारित भएर वन जोगाउन सक्नु पर्दछ ।” वनक्षेत्रमा उत्पादनमुखी बोट, बिरुवा रोप्न सामुदायिक वन उपभोक्ताहरूलाई मन्त्री पराजुलीले आग्रहसमेत गरे । पर्यटकीय क्षेत्रमा कसरी पर्यटन आकर्षण गर्न सकिन्छ सोहीअनुसार प्रदेश सरकारले काम गर्नेसमेत उनले बताए ।