विजयपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका नौ प्रतिवादी पक्राउ गरिएको छ ।


सुनसरी जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने क्रममा ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


मंगलबार विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये केहीलाई कैद सजाय तथा केहीलाई जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेहरूमा कुटपिट मुद्दामा दोषी ठहर भएका कोशी गाउँपालिका–७ का शिवनारायण मोची र इनरुवा–६ की सीता श्रेष्ठ, चेक अनादर मुद्दाका मोहन श्रेष्ठ, जयनारायण चौधरी तथा अशोक प्रसाद साह हलुवाई रहेका छन् । त्यस्तै अंश भरपाइ बदर मुद्दामा शिवनारायण मोची पुनः पक्राउ परेका छन् ।


यसैगरी, कर्तव्य ज्यान मुद्दामा अदालतबाट जनही दुई वर्ष कैद सजाय सुनाइएका धरान–१५ का बब्लु भनिने मणी परियार र विक्रम विक पक्राउ परेका छन् । लागूऔषध मुद्दामा बराहक्षेत्र–७ का मंगल लिम्बू पनि पक्राउ परेका छन् । उनलाई ४५ दिन कैद तथा दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।


प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको छ । अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।