विजयपुर । हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीमा विवाद चर्किएपछि केन्द्रीय तथा प्रदेश कमिटी सदस्यसहितले सामूहिकरूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

नगर प्रमुखको उम्मेदवार चयनसम्बन्धी निर्णयप्रति असन्तुष्टि जनाउँदै निनाचन्द्र राईसहित केन्द्रीय तथा प्रदेशस्तरीय सयभन्दा धेरै नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै निनाचन्द्र राईसहितका नेताहरूले पार्टी अध्यक्ष हर्कराज राईले एकतर्फीरूपमा निर्णय गरेको आरोप लगाउँदै सामूहिक पार्टी परित्याग गरेका हुन् ।

निनाचन्द्र राईका अनुसार पार्टी अध्यक्ष हर्कराज राईले धरान नगर प्रमुखको उम्मेदवार बनाउने प्रतिबद्धता गरेका थिए । तर पछि अध्यक्ष राईले आगामी स्थानीय तह निर्वाचनका लागि धनबहादुर राईलाई नगर प्रमुखको उम्मेदवारका रूपमा फेसबुकमार्फत् घोषणा गरेपछि असन्तुष्टि चुलिएको हो । उनका अनुसार पार्टीभित्र औपचारिक छलफल र निर्णय प्रक्रिया पूरा नगरी गरिएको उक्त घोषणाले सङ्गठनभित्र गम्भीर अविश्वास पैदा गरेको हो ।

निनाचन्द्र, केन्द्रीय सदस्य पूर्ण गहतराज, प्रदेश सदस्य विष्णुकुमारी राई (राखी नेवाहाङ), सदस्य नरहरि राई र अटलसिं राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– “हामी श्रम संस्कृति पार्टीमा आबद्ध केन्द्रीय सदस्य, प्रदेशको सदस्य र साधारण सदस्यहरू पछिल्लो समय पार्टी नेतृत्वबाट गरिएको निर्णयप्रति गम्भीर असहमति व्यक्त गर्दछौँ ।” त्यस्तै विज्ञप्तिमा अगाडि भनिएमने छ–“धनबहादुर राईलाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णयप्रति हाम्रो समूहको ठूलो असहमति छ । पार्टी अध्यक्ष राईले हामीलाई दिनुभएको प्रतिबद्धता पूरा नगरेको, प्रतिबद्धताविपरीत निर्णय गरेको र हामीलाई धोका दिएकोले नैतिकताको हिसाबले पार्टीमा रहन नसक्ने परिस्थिति सिर्जना भएको हुँदा साधारण सदस्यसमेत नरहने गरी सामूहिकरूपमा पार्टी परित्याग गरेको घोषणा गर्दछौँ ।”

नगर प्रमुखको उम्मेदवार बन्न नपाएपश्चात् पार्टी परित्याग गरेका राईले आगामी राजनीतिक यात्राका विषयमा स्पष्ट पारेनन् । सञ्चारकर्मीको जिज्ञासामा निनाचन्द्रले भने, “मेयरको अफर आए पनि फर्कदैनौँ । आगामी यात्रा स्वतन्त्रबाट वा राजनीतिक दलबाट अघि बढ्ने हो ? अहिले निर्णय गरेका छैनौँ ।”

स्रोतका अनुसार उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नगर प्रमुखको उम्मेदवार बन्ने अवसर पाएमा रास्वपामा जाने सम्भावनाबारे छलफल भइरहेको छ । निनाचन्द्र र हर्कराज मदन भण्डारी राजमार्गलाई बाइपास गर्ने अभियानदेखिसँगै एकसाथ रहँदै आएका थिए । निनाचन्द्रको धनकुटे रोडको मुखैमा रहेको बोनस महल र हर्कराज राईको बुद्धचोकनजिक घर रहेको छ । उनीहरू मदन भण्डारी राजमार्ग बाइपास गरेर आफ्नो घर जोगाउने अभियानदेखि सँगै थिए । 

हर्कराज राईले श्रम संस्कृति पार्टी राजनीतिक दलका रूपमाभन्दा ‘प्राइभेट लिमिटेड कम्पनी’ का रूपमा चलाउँदै आएको आरोप लाग्ने गरेको छ । अध्यक्ष राईले कुनै व्यक्तिलाई कारबाही गर्न वा पार्टी प्रवेश गराउँदा कोहीसँग छलफल नगरी एकलौटी रूपमा निर्णय गर्ने गरेका छन् । आफू प्रतिकूल बोलेकै आधारमा डा. मित्र परियारदेखि पूर्ण गहतराजसम्मलाई अध्यक्ष राईले कारबाही गरेका छन् ।

पार्टीमा जिम्मेवारी दिँदा पनि राईले एकलौटी निर्णय गरेर दिने गरेको बताइन्छ । पार्टी प्रवेश, स्वागत तथा पार्टीबाट कारबाही गर्दा प्रायः उनले फेसबुकबाटै जानकारी दिँदै आएका छन् । धनबहादुर राईलाई पनि फेसबुकबाटै नगर प्रमुखको उम्मेदवार घोषणा गरेका थिए । 

नेकपा (एमाले) बाट धरान वडा नं. ४ को वडाध्यक्षमा चुनाव जितेका धनबहादुर राईले प्रतिनिधि सभा निर्वाचनताका श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए । उनी  माओवादी, काङ्ग्रेस र एमाले हुँदै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।