विराटनगर । विगतमा फोहोर व्यवस्थापनमा लापरबाही गरेको र बक्यौता नतिरेको आरोपमा विवादित व्यवसायीको एकल बोलपत्र परेपछि विराटनगर महानगरपालिकाले २० वर्षे दीर्घकालीन फोहोर व्यवस्थापन ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ ।
महानगर कार्यपालिकाको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ बमोजिम ‘नेप्सेम्याक सेवा प्रा.लि.’ को प्रस्तावलाई अस्वीकृत गर्दै प्रक्रिया नै रद्द गरेको हो । महानगरले गत चैत ६ गते सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा २० वर्षका लागि नगरको फोहोर सङ्कलन, ढुवानी र विसर्जनका लागि बोलपत्र आह्वान गरेको थियो । जसमा ललितपुरस्थित नेप्सेम्याक सेवा प्रा.लि.ले मात्र ई–बिडिङमार्फत् प्रस्ताव पेस गरेको थियो । उक्त कम्पनीका अध्यक्ष टीकाराम दाहाल हुन्, जो यसअघि पनि विराटनगरकै फोहोर व्यवस्थापनमा विवादित बनेका थिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार बोलपत्र बुझाउने अन्तिम समयमा प्राविधिक समस्या र सार्वजनिक बिदा परेका कारण अन्य कम्पनी सहभागी हुन नपाएको र एउटा मात्र कम्पनी हुँदा वास्तविक प्रतिस्पर्धा नहुने देखिएकाले ठेक्का रद्द गरिएको हो ।
१० वर्षअघिको पक्राउ गरी ल्याउने पत्र
अहिले प्रस्ताव पेश गर्ने नेप्सेम्याकका अध्यक्ष दाहाल यसअघि ‘वेस्ट म्यानेजमेन्ट ग्रुप नेपाल प्रा.लि. एन्ड जेभी’ मार्फत् विराटनगरको सरसफाइमा संलग्न थिए । तर सम्झौताअनुसार फोहोर नउठाएको र जिम्मेवारी पूरा नगरेको भन्दै १७ माघ २०७३ मा तत्कालीन कार्यकारी अधिकृत दीपक कोइरालाले उनलाई पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेका थिए ।
महानगरको तथ्याङ्कअनुसार दाहाल नेतृत्वको उक्त समूहले महानगरलाई १२ लाख १५ हजार ४ सय ५० रुपैयाँ बेरुजु तिर्न बाँकी छ । २०७३ मा भएको सम्झौताअनुसार कर्मचारीको तलब बापतको रकम लिए पनि काम नगरेको महानगरको दाबी छ । महानगरले हाल नेप्सेम्याकलाई ७ दिनभित्र उक्त बेरुजु रकम जम्मा गर्न अल्टिमेटम दिएको छ, अन्यथा धरौटीबाटै असुल गर्ने चेतावनीसमेत दिएको छ ।
महानगरको अडान र कम्पनीको प्रतिवाद
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खराब रेकर्ड भएका व्यक्तिलाई पुनः सहरको जिम्मेवारी सुम्पिनु ‘आत्मघाती’ हुने बताए । “विगतमा महानगरका ट्याक्टर र ट्राइसाइकलसमेत गायब पारिएको रेकर्ड छ; जसलाई प्रहरी लगाएर फिर्ता ल्याउनुपरेको थियो” प्रमुख कोइरालाले भने, “यस्तो ट्रयाक रेकर्ड भएको मान्छेलाई फेरि २० वर्षका लागि ठेक्का दिन सकिँदैन । चित्त नबुझे अदालत गए हुन्छ तर सहरलाई जोखिममा पार्न सकिन्न ।”
यता नेप्सेम्याक सेवा प्रा.लि.ले भने महानगरको निर्णयलाई ‘नियोजित षड्यन्त्र’ भनेको छ । कम्पनीका अध्यक्ष दाहालले एकल बोलपत्र परेकै आधारमा ठेक्का रद्द गर्न नमिल्ने र बेरुजुको विषयलाई बहाना बनाएर आफ्नो साख गिराउन खोजिएको आरोप लगाएका छन् । हाल विराटनगरमा दैनिक करिब १ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । अहिले तीनवटा छुट्टाछुट्टै निजी संस्थामार्फत् उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा फोहोर सङ्कलन भइरहेको छ । यी संस्थाहरूसँगको सम्झौता आगामी कात्तिकमा सकिँदै छ ।
महानगरले हाल विराटनगर–१६ दरैयास्थित १० बिघा क्षेत्रफलमा रहेको डम्पिङ साइटमा खाल्डो खनेर फोहर पुर्ने प्रविधि अपनाइरहेको छ । तर वर्षायाममा दुर्गन्ध र वातावरणीय जोखिम बढ्ने भएकाले दीर्घकालीन समाधानका लागि नयाँ र पारदर्शी प्रक्रियाबाट पुनः बोलपत्र आह्वान गर्ने महानगरको तयारी छ । महानगरले २०७८ कात्तिक ५ गतेदेखि लागू हुने गरी ५ वर्षका लागि तीन वटा निजी संस्थासँग सम्झौता गरेको छ । विराटनगरको उत्तरी क्षेत्र (वडा १, २, ४, ५ र १९) मा फोहोर सङ्कलन र व्यवस्थापनको जिम्मा ‘नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रा.लि.’ ले पाएको छ । यस सेवाबापत महानगरले उक्त संस्थालाई वार्षिक १० लाख ६६ हजार ६ सय ५६ रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै मध्यक्षेत्र (वडा ६ देखि ११ सम्म) को जिम्मा ‘स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल’ नामक संस्थाले लिएको छ । यो संस्थाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै महानगरसँग प्रतीकात्मक रूपमा मासिक मात्र एक रुपैयाँ लिएर सेवा दिइरहेको छ । दक्षिणी क्षेत्र (वडा १२ देखि १८ सम्म) को व्यवस्थापन ‘सगरमाथा मल्टिपल सर्भिस प्रा.लि.’ ले गर्दै आएको छ । भौगोलिक दूरी र फोहोरको चापलाई हेर्दै महानगरले यो संस्थालाई वार्षिक ३५ लाख ९९ हजार ९ सय ८८ रुपैयाँ भुक्तानी गर्दछ ।
सामान्य ग्राहकका लागि हप्तामा दुई पटक र व्यावसायिक ग्राहकका लागि सातै दिन फोहोर सङ्कलन गर्ने गरिएको महानगरको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालले बताए । “विराटनगरमा दैनिक करिब १ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यो सबै फोहोर विराटनगर–१६ दरैयास्थित १० बिघा क्षेत्रफलमा रहेको डम्पिङ साइटमा विसर्जन गरिन्छ”–उनले भने । तर, यहाँ चुनौतीहरू अझै बाँकी छन् । हाल यो डम्पिङ साइटमा कुनै स्थायी संरचना छैन । वर्षायाममा दुर्गन्ध फैलने र वातावरणीय जोखिम बढ्ने समस्या छ । “त्यसैले महानगरले अहिले खाल्डो खनेर फोहोर पुर्ने प्रविधि अपनाइरहेको छ । आगामी दिनमा निजी साझेदार संस्थालाई २० वर्षको लिजमा दिएर महानगर फोहोर व्यवस्थापनमा दिगो कार्ययोजनासहित अगाडि बढ्ने लक्ष्य राखेको छ”–उनले भने ।