काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका–२ घर भएका २६ वर्षीय निमा तामाङ, काठमाडौँ महानगरपालिका–३२ बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका २४ वर्षीय विवेक साह छन् । यस्तै काठमाडौँ चन्द्रागिरी नगरपालिका–१ बस्ने सप्तरी राजविराज नगरपालिका–८ घर भएका ५२ वर्षीय उज्वलकुमार थापा र काठमाडौँ महानगरपालिका–९ बस्ने तेह्रथुम लालीगुराँस नगरपालिका–५ घर भएका ३५ वर्षीय खेमबहादुर बस्नेत रहेका छन् ।
पक्राउ परेकामध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रुपैयाँ, विवेकले जर्जिया, माल्टा लगायतका देशहरू पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३५ हजार रुपैयाँ, उज्वलले हङ्गेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ६२ हजार रुपैयाँ र खेमबहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निमालाई काठमाडौँ महानगरपालिका–६ बाट, विवेकलाई काठमाडौँ महानगरपालिका–१० बाट र उज्वललाई काठमाडौँ महानगरपालिका–३१ बाट मङ्गलबार तथा खेमबहादुरलाई काठमाडौँ महानगरपालिका–११ बाट बुधबार पक्राउ गरेको हो ।
पक्राउमध्ये निमा र विवेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने उज्वल र खेमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।