विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउने दुई संस्थालाई सम्मान गरेको छ ।
शुक्रबार महानगर परिसरमा आयोजित कार्यक्रममा वातावरणीय सचेतना फैलाउन, वृक्षारोपण प्रवद्र्धन गर्न तथा समुदायस्तरमा संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ।
महानगरका प्रमुख नागेश कोइरालाले गो ग्रिन विराटनगरका नवीनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई खादा, माला तथा सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कोइरालाले वातावरणीय संकट विश्वव्यापी चुनौती बनेको उल्लेख गर्दै यसको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक सबैको साझा प्रयास आवश्यक रहेको बताए । बढ्दो तापक्रम, अनियमित वर्षा र प्रदूषणका कारण वातावरणीय जोखिम बढ्दै गएको भन्दै उनले वृक्षारोपणलाई जनअभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
“हरित वातावरण बिना दिगो विकास सम्भव छैन। आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, शीतल वातावरण र सुरक्षित भविष्य दिन सक्छ,” उनले भने ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई स्वच्छ, व्यवस्थित र हरित सहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । वातावरणीय सुधारलाई महानगरको दीर्घकालीन विकास रणनीतिसँग जोडेर अघि बढाइने उनले जानकारी दिए ।
वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणमा नागरिक सहभागिता बढाउन महानगरले विभिन्न सचेतनामूलक तथा हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
विश्व वातावरण दिवसका अवसरमा यसअघि विभिन्न संघसंस्था, युवा समूह तथा विद्यार्थीहरूको सहभागितामा महेन्द्रचोकबाट प्रभातफेरी समेत निकालिएको थियो । वातावरणमैत्री जीवनशैली, फोहोर व्यवस्थापन, वृक्षारोपण तथा जलवायु सचेतनासम्बन्धी सन्देश बोकेको प्रभातफेरीले नगरवासीको ध्यान वातावरणीय मुद्दातर्फ आकर्षित गरेको थियो ।
कार्यक्रममा सेन्ट मेरिज विद्यालयका विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए ।
महानगरपालिकाले वातावरण संरक्षणमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्दै हरित क्षेत्र विस्तार, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण र दिगो शहरी विकासलाई आगामी दिनमा थप प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।