धरान । सगरमाथा आरोही सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि कार्यरत ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–६ का ५७ वर्षीय आरोही दावा शेर्पासँग सम्बन्धित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले जारी गरेको विज्ञप्तिमा परिवार स्रोतलाई उद्धृत गर्दै उद्धार तथा खोजी कार्यमा सम्बन्धित ट्रेकिङ कम्पनीले पर्याप्त जिम्मेवारी नदेखाएको तथा खोजी कार्यको सट्टा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।

सङ्घका अनुसार दोस्रो आधार शिविर (क्याम्प–२) मा कुकका रूपमा कार्यरत शेर्पालाई चौथो आधार शिविर (क्याम्प–४) मा जान दबाव दिइएको भन्ने गुनासोसमेत आएको छ । साथै, उनी ६ दिनसम्म बेपत्ता रहँदा खोजी तथा उद्धारका लागि के–कस्ता प्रयास गरिए भन्ने विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक रहेको सङ्घले विज्ञप्ति जारी गरी जनाएको छ ।

जारी विज्ञप्तिमा हिमाली क्षेत्रमा कार्यरत आरोहीहरूको सुरक्षाप्रति सङ्घ सदैव सचेत रहेको उल्लेख गर्दै यस घटनाबाट प्रभावित दावा शेर्पाको परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “परिवार स्रोतका अनुसार उद्धार कार्यमा सम्बन्धित ट्रेकिङ कम्पनीले बेवास्ता गरेको र खोजी गर्नुको सट्टा गैरजिम्मेवार अभिव्यक्ति दिएको लगायतका गुनासाहरू देखिएका छन् ।”

उक्त घटनाले नेपालको हिमाली पर्यटन क्षेत्रको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको सङ्घका उपाध्यक्ष दिवस पोख्रेलले बताए । यसबाट विदेशी पर्यटकमाझ समेत नकारात्मक सन्देश गएको उल्लेख गर्दै तत्काल सुधारात्मक कदम चाल्न सरकारसँग उनले माग गरेका छन् ।