विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूलाई सम्मान गरेको छ । कलेजले उनीहरूलाई छात्रवृत्ति पनि प्रदान गरेको छ ।


बिहीबार धरान–१२ स्थित कलेजमा आयोजित कार्यक्रममा मिस एसईई–२०८३ की विजेता स्टेला श्रेष्ठ, सेकेन्ड रनरअप स्वस्ती अधिकारी तथा पब्लिक च्वाइस अवार्ड विजेता सुप्रभा पाण्डेलाई सम्मान गरिएको हो । यस्तै, मिस प्रोभिन्स आइडल–२०८३ का विजेता स्वर्णिम थापा मगर र फस्ट रनरअप मुस्कान राईलाई पनि सम्मान गरिएको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले बताए । उनका अनुसार कार्यक्रममा उप–प्राध्यापक राजेश विद्रोही तथा होटल म्यानेजमेन्ट कोअर्डिनेटर स्मारिका दाहालले विजेताहरूलाई सम्मान गरे । कलेजका शैक्षिक निर्देशक घिमिरेका अनुसार मिस एसईई–२०८३ की विजेता स्टेला श्रेष्ठ र मिस प्रोभिन्स आइडल–२०८३ का विजेता स्वर्णिम थापा मगरलाई कक्षा ११ र १२ अध्ययनका लागि ८० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै, स्वस्ती अधिकारी, सुप्रभा पाण्डे र मुस्कान राईलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने कलेजले जनाएको छ । प्रतिभावान विद्यार्थीलाई अध्ययनतर्फ थप प्रोत्साहित गर्ने उद्देश्यले सम्मानसँगै छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।