विजयपुर । धरान उपमहानगरपालिका– ५ र ६ का देउराली तथा पानबारी क्षेत्रका स्थानीयवासी धमिलो पानी पिउन बाध्य छन् । वर्षा हुनेबित्तिकै खानेपानी धमिलो आउने समस्या सधैँ दोहोरिने गरेको स्थानीय बताउँछन् ।

स्वच्छ खानेपानीको अभाव भई सर्वसाधारणले सास्ती खेप्नुपरेको स्थानीय बताउँछन् । धरान–६ तल्लो पानबारीका स्थानीय बिशान श्रेष्ठ वर्षा सुरु भएपछि बर्सेनि खानेपानी समस्या हुने गरेको बताउँछन् । उनी भन्छन्, “वर्षैपिच्छे समस्या आउँछ । समधान हुँदैन ।” वर्षा सुरु हने बित्तिकै खोला बाढी आउने र सोही पानी उपभोक्ताका धारामा जाने गरेको उनको भनाइ छ ।

पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको फितलो व्यवस्थापनका कारणले धमिलो पानी उपभोग गर्न बाध्य बन्नुपरेको स्थानीय बताउँछन् । स्थानीय चन्द्र काफ्ले पनि पानबारीसहित ठिङ्गाबारी क्षेत्रमा बर्खा लागेपश्चात् खानेपानी लेदोसहित आउने गरेको बताउँछन् । खानेपानी फिल्टर गर्न नसकेका कारणले समस्या भएको उनको भनाइ छ । स्थानीय निर्मला भण्डारी वर्षा हुन थालेपश्चात् सधैँ धमिलो पानी आउने गरेको बताउँछिन् ।

धारामा धमिलो पानी आउन थालेपश्चात् स्थलगत निरीक्षणमा पुगेका धनबहादुर खत्रीले उपभोक्ता समितिको केही लापरबाहीजस्तो देखिएको बताउँछन् । स्थानीयवासीका अनुसार खोलाको पानी सिधै उपभोक्ताका धारामा पुग्ने गरेको छ ।

पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष समीर खनाल खानेपानीको व्यवस्थापन गर्न लागिपरिरहेको बताउँछन् । उनले सम्पवेल मर्मत सम्भार गर्न नसकेकाले धमिलो पानी आएको बताए । उनी भन्छन्, “हामी व्यवस्थापनमा लागिरहेका  छौँ । आर्थिक अभावका कारणले सबै गर्न सकेनौँ ।” पानबारीमा २ हजार ३ सय घरधुरी रहेका छन्  । दैनिक १२ देखि १५ लाख लिटर पानी आवश्यक पर्छ ।

३० लाख फ्रिज, आर्थिक समस्या

सङ्घीय सरकारको लागतमा सञ्चालित परियोजनाको बजेट फ्रिज भएपश्चात् आर्थिक समस्या भएको उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष खनालका अनुसार सङ्घीय सरकार अनुदानमा बन्ने ३० लाख रुपैयाँको परियोजना सम्पन्न हुनलाग्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो ।

उजुरी परेपश्चात् ३० लाख रुपैयाँ भुक्तानी भएन । ३० लाख लागतमा ट्याङ्की र १० लाख रुपैयाँमा ड्याम बन्न लागेको थियो । उक्त ड्याम बनेको भए धमिलो पानी वितरण गर्नुपर्ने थिएन तर बजेट अभावमा सम्पवेल तथा फिल्टर मर्मत सम्भार गर्न नपाउँदा धमिलो पानी वितरण गर्न बाध्य भएको उनको भनाइ छ ।

गतवर्ष बाढीले ड्यामसहित खानेपानीको संरचना बिगारेपछि समस्या भएको छ । अध्यक्षका अनुसार ट्याङ्कीको अझै ११ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । खनाल भन्छन्, “बजेट अभावले सम्पवेल र फिल्टर प्लान्ट मर्मत गर्न सकेनौँ ।” उनका अनुसार सम्पवेल मर्मतका लागि करिब १२ लाख रुपैयाँ आवश्यक पर्छ भने ट्युबवेल मर्मतका लागि ८ देखि १० लाख रुपैयाँ लाग्छ ।

दोषी देखिए कारबाही होस्, नभए क्षतिपूर्ति

पानीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खनालले दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए । उनी भन्छन्, “दोषी देखिए कारबाही गरियोस्, नभए क्षतिपूर्ति दिनुप¥यो ।” अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको बेनामे उजुरीका कारणले नै अनदान फ्रिज भएकाले दोषी देखिए कारबाही गर्ने नभए क्षतिपूर्ति दिनुपर्ने अध्यक्ष खनालले माग गरे । २०८२ सालमा नै उजुरी परेको र सबै जवाफ पठाएको छ । तर त्यसको कुनै प्रतिक्रिया आएको छैन ।

ट्युबवेल मर्मतमा पनि समस्या

समितिका अध्यक्ष खनालका अनुसार पानीबारीमा ५ वटा ट्युबवेल थिए । ५ वटामध्ये दुईवटा बिग्रिएका छन् । वेलको मोटर बिग्रिएकाले सञ्चालन गर्न सकिएको छैन । खनाल भन्छन्, “दुईवटा मर्मत गर्न १० लाख लाग्ला तर पैसा छैन ।” दुईवटा वेल चलाउन सक्दा तल्लो पानबारीवासीलाई धान्ने र माथिल्लो पानबारीलाई जरुवा पानीले धान्ने अध्यक्ष खनालको भनाइ छ । नगरले बजेट व्यवस्थापन गरिदिए अथवा ट्युबवेल मर्मत गरिदिए सहज हुने उनले बताए ।

728089162_1419854543285208_6233809857517485252_n