भद्रपुर । असार ४ गतेदेखि बन्द गरिएका चिया उद्योग तथा बगानहरू खुल्ने भएका छन् ।

भारतीय चिया बोर्डले जारी गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) का कारण चिया निर्यातमा कठिनाइ भएको र पटक–पटक सम्बन्धित निकायमा हारगुहार गरे पनि सुनुवाइ नभएको भन्दै बन्द गरिएको थियो । नेपाल सरकारले समस्या समाधानका लागि विशेष कार्यदल गठन गरेपछि र प्रधानमन्त्री कार्यालयबाट कूटनीतिक पहलको आश्वासन पाएपछि नेपाल चिया उत्पादक सङ्घ झापाले बन्द रहेका उद्योगहरू बिहीबारदेखि पुनः सञ्चालन गर्ने प्रेस विज्ञप्ति जारी गर्दै निर्णय गरेको हो ।

भारतीय नीतिका कारण चिया निर्यात रोकिँदा झापा र इलामका चिया उद्योगहरू गम्भीर सङ्कटमा परेका थिए । सरकारले बेलैमा सुनुवाइ नगरेको भन्दै व्यवसायीहरूले आन्दोलन स्वरूप उद्योगहरू बन्द गरी पत्रकार सम्मेलन र विज्ञप्तिमार्फत् विरोध सार्वजनिक गरेको चिया उत्पादक सङ्घका उपाध्यक्ष शिवकुमार गुप्ताले बताए । चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानका समस्या पहिचान गर्न र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने दीर्घकालीन जिम्मेवारीसहित नेपाल सरकारले विशेष कार्यदल गठन गरेको कार्यलाई सङ्घले सकारात्मक रूपमा लिएको उपाध्यक्ष गुप्ताद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा राजधानी पुगेको प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीको कार्यालयबाट कूटनीतिक तथा प्रशासनिक पहल गर्ने स्पष्ट आश्वासन प्राप्त भएको पत्रमा उल्लेख छ । बगानमा किसानहरूको हरियो चियापत्ती हुर्कंदै गएको संवेदनशील अवस्था र चिया मजदुरहरूको दैनिक गुजारामा परेको प्रत्यक्ष असरलाई मध्यनजर गर्दै सङ्घले उद्योगहरू सधैँका लागि बन्द गरिरहनु उपयुक्त नहुने ठहर गरेको उल्लेख छ ।

सङ्घले आफ्नो मागमा ऐक्यबद्धता जनाउने सम्पूर्ण चिया उद्योगी, किसान, मजदुर, राजनीतिक दल, वस्तुगत सङ्घ–सङ्गठन, नेपाल उद्योग वाणिज्य महासङ्घ तथा सञ्चारकर्मीहरू प्रति हार्दिक आभार प्रकट गर्दै चिया क्षेत्रको दिगो समाधानका लागि नेपाल सरकारप्रति धन्यवाद समेत व्यक्त गरेको पत्रमा उल्लेख छ ।

जिल्लामा साना–ठूला गरी ३० भन्दा बढी चिया उद्योग तथा करिब दुई दर्जन चिया बगान बन्द भएका थिए । भारतीय चिया बोर्डले मे १ तारिख (वैशाख १८ गते) देखि लागू गरेको मापदण्डमा प्रत्येक पटक चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेपछि असार ४ गते बिहीबारबाट निजी उद्योगसहित बगान बन्द भएका थिए ।

 यसअघि एउटा नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १५ वटा ट्रकलाई मान्यता दिने गरिएको थियो । तर, भारतले पुरानो व्यवस्था खारेज गर्दै अहिले ट्रकपिच्छे नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान लागू गरेको छ ।

भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा ४५ दिनदेखि लगाएको अवरोध हटाउन कुनै पक्षबाट पनि पहल नभएपछि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उद्योगीहरूले बताएका थिए । नेपालमा उत्पादित सिटिसि तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्बसम्म भइरहेको उद्योगीहरूको भनाइ छ । करिब पाँच अर्ब बराबरको चिया भारत निकासी भएर विदेशी मुद्रा नेपाली भित्रिरहेको जनाइएको छ ।

झापा नेपालको सबैभन्दा ठूलो चिया उत्पादन क्षेत्र हो । करिब १२ हजार बिघामा चिया खेती लगाइएको सङ्घले जनाएको छ । चिया क्षेत्रमा प्रत्यक्षरूपमा करिब ६० हजार श्रमिक, कर्मचारीलाई रोजगार प्रदान गरेको, हजारौं किसान आश्रित रहेको र चिया उद्योगहरूले वार्षिक विभिन्न शीर्षकमा करिब एक अर्ब रुपैयाँ राजस्वसमेत सरकारलाई बुझाउने गरेको जनाएको छ ।