विजयपुर । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घको साधारणसभाले सर्वसम्मत रूपमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

शनिबार सम्पन्न साधारण सभाले काठमाडौँको शुभेक्षा इन्टरनेसनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. होम अधिकारीको अध्यक्षतामा नवगठित कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विक्रम अधिकारी छन् । यसैगरी उपाध्यक्षहरूमा कोशी प्रदेशबाट इन्दु नेपाल योञ्जन, मधेश प्रदेशबाट अभिषेक रोशन, बागमती प्रदेशबाट अरुण पौडेल, गण्डकी प्रदेशबाट हेमन्त श्रेष्ठ, लुम्बिनी प्रदेशबाट देवेश कर्ण र सुदूरपश्चिम प्रदेशबाट कृष्ण ढुङ्गाना छानिएका छन् ।

कार्यसमितिका महासचिवमा चामबहादुर, सचिवमा समीर शर्मा र कोषाध्यक्षमा रोजिका प्रधान छानिएका छन् भने सदस्यहरूमा रोशन अधिकारी, विशाल लामिछाने, प्रकृति आचार्य, क्षितिज खतिवडा, जगत सुजाकू, लावेन्द्र कुँवर र हेम बिडारी छानिएका छन् ।

नवनिर्वाचित उपाध्यक्ष इन्दु नेपाल योञ्जनले देशभरि स्वास्थ्य संस्थाको व्यवस्थापन, सुशासन, गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य व्यवस्थापकहरूको पेशागत हकहित प्रवद्र्धनमा नयाँ कार्यसमितिले प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरे । १७–१८ वर्षयता स्वास्थ्य व्यवस्थापन क्षेत्रमा विभिन्न तहमा रहेर काम गरेका योञ्जन अहिले धरानको विजयपुर हस्पिटलमा प्रमुख अस्पताल प्रशासकका रूपमा कार्यरत छन् । उनी दोस्रो कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा छानिएका हुन् ।