विराटनगर । गृहमन्त्री सुधन गुरुङले शनिबार मोरङको प्रशासनिक र सुरक्षा अवस्थाको जानकारी लिन विराटनगरमा पाँच घण्टा बिताएका छन् ।

बिहान ११ बजे बुद्ध एयरबाट विराटनगर ओर्लिएका गृहमन्त्रीले यस अवधिमा जिल्ला प्रशासन कार्यालयदेखि नेपाल–भारत सीमा क्षेत्र (जोगबनी नाका) सम्म पुगेर स्थलगत निरीक्षण गरे ।

विमानस्थलमा सुरक्षा निकायका प्रमुखहरूसँगको संक्षिप्त भेटघाटपछि उनी सिधै जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका थिए । प्रशासनको भवन र हाताको निरीक्षणका क्रममा मन्त्री गुरुङले पर्याप्त जग्गा भए पनि सेवा प्रवाह छरिएकोप्रति चासो व्यक्त गरे ।

“मलाई यहाँ यति धेरै जग्गा छ भन्ने थाहै थिएन, आज प्रत्यक्ष देख्न पाएँ” उनले प्रमुख जिल्ला अधिकारीसँग भने, “जग्गा पर्याप्त रहेछ, एउटै परिसरबाट एकीकृत सेवा प्रवाह गर्ने गरी व्यवस्थापन मिलाउनसके सेवाग्राहीलाई धेरै सहज हुने थियो ।” उनले सरकारी जग्गाको अधिकतम् सदुपयोग गर्दै सेवालाई प्रविधिमैत्री र सहज बनाउन निर्देशन दिए ।

त्यसपछि कोशी प्रदेश प्रहरी कार्यालय पुगेका गृहमन्त्रीलाई प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले प्रदेशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे ब्रिफिङ गरेका थिए । सुरक्षा निकायको आन्तरिक अवस्था बुझेपछि उनी विराटनगर–१६ स्थित जोगबनी सीमा नाकातर्फ लागेका थिए ।

सीमा क्षेत्रमा हुने चोरी–पैठारी र सुरक्षा चुनौतीबारे चासो राख्दै गृहमन्त्री गुरुङले तीन तहको सरकारबीच समन्वय भए मात्र तस्करी नियन्त्रण सम्भव हुने बताए । “हाम्रो सीमा क्षेत्र ठूलो छ, तर त्यसको तुलनामा सशस्त्र प्रहरीको सङ्ख्या र साधनस्रोत कम छ” सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “काम चुनौतीपूर्ण छ । पुराना बेथिति सुधार्न समय लाग्छ । कतिपय ठाउँमा सीसीटीभी छैन, निगरानी गर्ने आधुनिक संयन्त्र छैन, यहाँसम्म कि सुरक्षाकर्मीलाई बस्ने उचित ठाउँसमेत अभाव छ ।”

यी अभावहरू सम्बोधन गर्न सरकारले यसपटक बजेटमा पहल गरेको दाबी गर्दै उनले स्थानीय तहले पनि सुरक्षा निकायलाई सहयोग गर्नुपर्नेमा जोड दिए । “प्रहरी र सुरक्षा सबैलाई चाहिन्छ, तर स्रोतसाधन नदिई खटाएको खटाइमात्र गरेर हुँदैन”–उनले थपे ।

राजनीतिक खिचातानीका कारण विकास र सुरक्षामा असर परेकोतर्फ सङ्केत गर्दै गृहमन्त्रीले दलगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे । “कतिपय ठाउँमा तपाईं यो पार्टी, म त्यो पार्टी भन्ने भावनाले समस्या भइरहेको छ” उनले भने, “देश बनाउने काममा सबै एक भएर, नेपाली भएर सोच्नुपर्छ । पार्टीको काम पछि गरौँला, मिलेर काम गरे मात्र सबैको हित हुन्छ ।”

सीमा क्षेत्रपछि उनले विराटनगर भन्सार कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको भवन निरीक्षण गरेका थिए । दिउँसो ४ बजे विराटनगरबाट सुनसरी प्रस्थान गरेका उनले इटहरी र धरानमा पार्टीका कार्यकर्ता र सुरक्षा निकायका अधिकारीहरूसँग भेटघाट गरेका थिए । त्यसपछि उनी धनकुटातिर लाग्ने बताइएको छ ।