सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ मधेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल, म्याग्जिन र तीन राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार राति १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको टोलीले पैदल हिँडिरहेका मोरङ विराटनगर महानगरपालिका–१७ रानीबस्तीका ५१ वर्षीय नूर महम्मद र विराटनगर–८ अशोकचोकका ३२ वर्षीय इम्रान खान उर्फ मोहम्मद अहमदलाई शङ्कास्पद अवस्थामा रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा उनीहरूको साथबाट चाइनिज पेस्तोल जस्तो देखिने एक थान पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक थान म्याग्जिन तथा तीन राउण्ड गोली बरामद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको हतियार र गोलीसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका नूर महम्मदमाथि यसअघि २०६४ सालमा जिल्ला प्रहरी कार्यालय मोरङमा हातहतियार तथा खरखजाना र जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा उनी १२ वर्ष कैद सजाय भुक्तान गरी छुटेको जिल्ला प्रहरी कार्यालय सूचना शाखाले जनाएको छ ।

यस्तै, अर्का पक्राउ परेका इम्रान खान उर्फ मोहम्मद अहमदमाथि २०७५ सालमा जिल्ला प्रहरी कार्यालय मोरङमा चोरी मुद्दा चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको स्रोत, हतियार कहाँबाट ल्याइएको थियो र यसको सम्भावित प्रयोगबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जिप्रका सुनसरीका प्रहरी प्रमुख एसपी केशवसिंह थेबेले जानकारी दिए ।