भद्रपुर । झापाको भद्रपुरस्थित निर्माणाधीन प्रादेशिक अस्पतालमा ठेकेदारको चरम् लापरबाही देखिएको छ । हिमतारा पूर्वाधार विकास कम्पनी सुनसरीले अस्पतालको माथिल्लो तलामा निर्माण हुँदै गरेको नयाँ भवनमा न्यूनतम् सुरक्षा मापदण्डसमेत पालना नगरी निर्माण कार्य अघि बढाउँदा अस्पतालमा आउने बिरामी र तिनका आफन्तहरू ‘मृत्युको धराप’ मुनि हिँड्न बाध्य भएका छन् ।
भवन निर्माण भइरहेको क्षेत्रमा चारैतिर सुरक्षा जाली वा छेकबार लगाउनु अनिवार्य कानूनी र प्राविधिक नियम भए पनि अस्पतालको निर्माणाधीन भवनमा कुनै पनि छेकबार लगाइएको छैन । तल बिरामी र सर्वसाधारणको निरन्तर आवत–जावत भइरहँदा माथि खुला रूपमा फलामका डण्डी, काठलगायतका सामग्रीबाट निर्माण कार्य भइरहेको छ ।
भवनको माथिल्लो तलामा काम गरिरहेका कामदारहरूले समेत कुनै पनि व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गरेका छैनन् । न उनीहरूले सेफ्टी हेल्मेट लगाएका छन्, न त सेफ्टीबेल्ट नै बाँधेका छन् । यसले कामदार आफै पनि जुनसुकै बेला खसेर दुर्घटनामा पर्न सक्ने गम्भीर जोखिम निम्तिएको छ । केही दिनअघि मात्र झापा बाह्रदशी गाउँपालिकाको भवनमा रङ गलाउने क्रममा मोरङका ४२ वर्षीय टङ्क थापाको लडेर ज्यान गएको थियो । उनले कुनै सुरक्षा उपकरण प्रयोग नगरेका कारण सो दुर्घटना भएको थियो ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा दैनिक सयौंको सङ्ख्यामा अशक्त बिरामी, वृद्धवृद्धा र बालबालिका उपचारका लागि आउने गर्छन् । माथि काम भइरहेको ठाउँबाट एउटा सानो औजार, इँटा वा फलामको डण्डी मात्र तल खसेमा सेवाग्राहीको घटनास्थलमै ज्यान जान सक्ने सम्भावना देखिएको छ । यस्तो अवस्थामा कुनै अप्रिय दुर्घटना भई कसैको ज्यान गएमा त्यसको जिम्मेवारी कसले लिने ? निर्माण कम्पनी, अस्पताल प्रशासन वा सम्बन्धित ? यो गम्भीर प्रश्न खडा भएको छ ।
प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सञ्जयकुमार गुप्ताले पटक–पटक मौखिक जानकारी निर्माण कम्पनीलाई गराए पनि वास्ता नगरेपछि लिखित जानकारीसमेत गरेको बताए । उलने भने, “यो कम्पनीको ठूलो लापरबाही हो, कुनै पनि बेला दुर्घटना हुनसक्छ ।”
निर्माण कम्पनीका सञ्चालक खगेन्द्र पौडेलले यो सामान्य विषय हो । पहिला सुरुमा छेकबारका रूपमा झुल लगाएका थियौँ । भवनको पिल्लर उठाउँदा र पुरानो पिल्लर भत्काउँदा कङ्क्रिटको टुक्रा झुलमा अड्किएर झन् ठूलो दुर्घटना हुने भएका कारण हटाइएको बताए । उनले भने, “मैले मजदुरहरूलाई सबै सुरक्षाका सामग्री दिएको छु तर उनीहरू नै लाउन मान्दैनन् । अरू के के भएको छ म आफै निर्माणस्थलमा आएर हेर्नेछु ।”
यता सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख प्रदिपकुमार सिंहले भने सुरुमा छेकबार लगाएको र पछि समस्या हुनसक्ने भएकोेले हटाइएको बताए । अब पुनः लगाउन ठेकेदारलाई जानकारी गराउने उनको भनाइ छ । गत वैशाख २२ गते भ्याटसहित ७ करोड ४ लाख ८८ हजार ९ सय ७८ रुपैयाँ कुल लागतमा २०८४ असार १५ गतेभित्र सम्पन्न हुने गरी सम्झौता भएको थियो । यसअघि पनि अस्पताल भवन गुणस्तरहीन भएका कारण विवादमा परेको छ भने अख्तियारमा समेत मुद्दा जारी छ ।