विराटनगर । कोशी अस्पताल विराटनगरले अतिक्रमित संरचना हटाउन सोमबारदेखि डोजर चलाउने चेतावनी दिएपछि अतिक्रमित क्षेत्रमा रहेका व्यावसायिक सटरहरू धमाधम खाली हुन थालेका छन् ।

 अस्पतालले दिएको सात दिने समयसीमा सकिन एक दिन बाँकी रहँदै शनिबारदेखि व्यवसायीहरूले सटरका सामान सार्न र संरचना खाली गर्न थालेका हुन् ।

अस्पतालले आफ्नो स्वामित्वको जग्गामा बनेका चार संस्थाअन्तर्गतका २६ वटा व्यावसायिक सटर सोमबारदेखि भत्काउने तयारी गरेको छ । यसअघि शुक्रबार पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले अतिक्रमित संरचना नहटाए डोजर चलाएर भत्काइने स्पष्ट पारेको थियो । अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइटेलका अनुसार भत्काइने सटरहरूमा ‘रातो स्टिकर’ समेत टाँस गरिसकिएको छ ।

अस्पताल प्रशासनले गणेश मन्दिर, क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका मुख्य भवन तत्काल नभत्काइने स्पष्ट पारेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएका २६ वटा सटर मात्र हटाइने जानकारी दिए ।

अस्पतालका अनुसार गणेश मन्दिर परिसरका ५, क्षयरोग निवारण संस्थाका ९, नेपाल रेडक्रस सोसाइटीका ६ र देवकोटा पुस्तकालयअन्तर्गतका ६ वटा व्यावसायिक सटर भत्काइनेछन् । ती सटरहरूबाट सम्बन्धित संस्थाहरूले मासिक लाखौँ रुपैयाँ भाडा उठाउँदै आएका छन् ।

अस्पतालले यसअघि १५ दिने सूचना जारी गरे पनि संरचना खाली नभएपछि गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले स्थलगत निरीक्षण गरी सात दिनभित्र अतिक्रमित संरचना हटाउन निर्देशन दिएका थिए । मन्त्रीहरूको निर्देशन र स्थानीय प्रशासनको पहलपछि अतिक्रमण हटाउने प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ ।

कोशी अस्पतालको स्वामित्वमा रहेको विराटनगर–७ का विभिन्न कित्तामा पर्ने बहुमूल्य जग्गामा लामो समयदेखि चार संस्थाले व्यावसायिक सटर सञ्चालन गर्दै आएका छन् । अस्पतालले आफ्नै गुरुयोजना कार्यान्वयन र स्वामित्वको जग्गा सदुपयोग गर्न अतिक्रमित संरचना हटाउने अभियान अघि बढाएको जनाएको छ ।