काठमाडाैँ । एनसेलले चार जिल्लाका ३५ स्थानीय तहमा सोमबारदेखि थ्रीजी सेवा बन्द गरेको छ ।
‘भ्वाइस ओभर लङ टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्क विस्तारको क्रममा थ्रीजी सेवा बन्द गरेको कम्पनीले जनाएको छ । देशको झण्डै ९५ प्रतिशत जनसङ्ख्यामाझ पहिला नै फोरजी सेवा विस्तार गरेको जनाइएको छ । पर्सा, इलाम, पाँचथर र दाङका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिएको हो । प्रविधिमा अद्यावधिक भएपछि उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूले उही शुल्कमा भ्वाइस अनि डेटा प्रयोग गर्न सक्ने जनाइएको छ । देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने एनसेलको योजना रहेको छ ।
तीन प्रदेशका चार जिल्लाका २ सय १५ भन्दा बढी टावरहरूमा कम्पनीले सोमबारबाट थ्रीजी सेवा बन्द गरेको हो । लुम्बिनी प्रदेशको दाङ जिल्लाका घोराही, बबई, शान्तिनगर, तुल्सीपुर लमही, इलामका देउमाई, फाकफोकथुम, इलाम, माई, माईजोगमाई, रोङ, सूर्योदयलगायतका स्थानीय तह रहेका छन् ।
यस्तै पाँचथरका फालेलुङ, फाल्गुनन्द, कुम्मायक, मिक्लाजुङ, फिदिम र पर्साका बहुदरमाई, वीरगञ्ज, छिपहरमाई, धोबिनी, जगरनाथपुर, जिराभवानी, कालिकामाई, पर्सागढी, पोखरिया, सखुवा प्रसौनी र ठोरीलगायत विभिन्न स्थानीय तहमा थ्रीजी बन्द गरिएको हो ।
भोल्टे प्रविधिको फाइदा लिन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा इ–सिम अनि फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्ने जनाइएको छ ।