धरान । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाणलाई जेल सजाय तोकिएको छ ।

मङ्गलबार जिल्ला अदालत काठमाडौँले उनलाई दुई वर्ष कैद सजाय सुनाएको हो । उनलाई २० हजार रुपैयाँ जरिबाना पनि तोकिएको छ । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि मङ्गलबार सुनुवाइ भएको थियो । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाएको छ ।

अदालतका अनुसार उनलाई फरक फरक मुद्दामा सजाय निर्धारण गरिएको छ । उनलाई ठगीमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना साथै सङ्गठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना निर्धारण गरिएको छ ।

यस्तै राज्यविरुद्धको कसूरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ । साथै उनलाई थप तीन महिना पनि कैद तोकिएको जनाइएको छ । अदालतले एकीकृततर्फ दुई वर्ष कैद र २० हजार जरिबाना निर्धारण गरेको छ ।

यस मुद्दामा न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो । जसमा १६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए ।