धरान । धरान उपमहानगरपालिका–१३, १४ र ४ नम्बर वडालाई जोड्ने सेउती खोलास्थित ज्वानेटार फलामे पुल बिहीबार उद्घाटन गरिएको छ ।
यो पुल श्रमदानबाट निर्माण भएको हो । लामो समयसम्म पुल निर्माण नभएपछि श्रम संस्कृति पार्टीले सहयोग सङ्कलन गर्दै पुल निर्माण गरेको हो । पुल करिब ८० लाख रुपैयाँको लागतमा निर्माण भएको छ । पुलको सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले उद्घाटन गरे । उद्घाटनको क्रममा सांसद् राईले दार्चुलामा निर्माण गरिएको पुलबाट बाँकी रहेको रकमलाई ज्वानेटार फलामे पुल निर्माणमा प्रयोग गरिएको बताए ।
“वर्षौंदेखि पुल बनाउने कुरा मात्रै भयो तर काम हुन सकेन । स्थानीयको समस्या समाधान गर्न दार्चुला पुलको सहयोगबाट बचेको रकम यही पुलमा लगाएर निर्माण गरेका हौँ”–उनले भने । पुल उद्घाटनमा पुगेका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले श्रमदान अभियानमार्फत् निर्माण सम्पन्न भएकोमा प्रशंसा गरे । उनले जनसहभागिताबाट पनि ठूला पूर्वाधार निर्माण सम्भव हुने उदाहरणका रूपमा यो पुललाई लिनुपर्ने बताए ।
यो पुलले धरान–४ का बासिन्दालाई सहज हुने भएको छ । विशेषगरी बर्खाको समयमा ४ नम्बर वडावासीहरू धरान आउनका लागि लामो दूरीको बाटो घुम्नुपर्ने बाध्यता थियो । विद्यार्थीहरूलाई पनि असहज हुँदै आएको थियो । ४ नम्बर वडावासीले कृषिजन्य उत्पादनहरू धरान बजार ल्याउनलाई सकस थियो । धरान–४ का निवर्तमान वडाध्यक्ष धनबहादुर राईको नेतृत्वमा उक्त पुल निर्माण थालिएको थियो । उक्त क्षेत्रमा लामो समयदेखि पुल बन्न सकेको थिएन । पुलका लागि २०७४ अगावै काम थालिए पनि बजेट विनियोजन हुन नसक्दा पुलको काम अगाडि बढ्न सकेको थिएन ।