विजयपुर । सुनसरीको पछिल्लो अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जिल्लाको अवस्था क्रमशः सुधार हुँदै गएको जानकारी दिए । उनले भने, “अवस्था सुधारोन्मुख भइरहेको छ । मंगलबार रातिदेखि कफ्र्यु कायम छ ।” उनका अनुसार अहिले जिल्लाको सुरक्षा अवस्था नियन्त्रणमा रहेको छ । उनले भने, “कफ्र्युमा कडाइ गरिएको छ र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाइएको छ ।” सामान्य रूपमा केही व्यक्तिहरू सडकमा देखिए पनि अवस्था नियन्त्रणमै रहेको प्रशासनले जनाएको छ ।


सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते दुई धार्मिक समूहबीच भएको विवाद झडपमा परिणत भएको थियो । झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।  घटनामा स्थानीय तथा सुरक्षाकर्मीसहित २४ जना घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


उक्त घटनापछि स्थानीय आन्दोलित हुँदा सोमबार र मंगलबार सुनसरीसहित आसपासका क्षेत्र तनावग्रस्त बनेका थिए । सोमबार बिहानदेखि नै कफ्र्यु जारी गरिएको थियो भने नेपाली सेना सडकमा परिचालन गरिए पनि अवस्था तनावपूर्ण नै थियो । मंगलबार विभिन्न स्थानमा तोडफोडका घटनासमेत भएका थिए ।


मंगलबार बेलुकादेखि कफ्र्यु क्षेत्र विस्तार गरी थप कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । प्रशासनका अनुसार सुनसरीका १२ स्थानीय तहमध्ये धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबाहेक अन्य स्थानीय तहमा कफ्र्यु जारी गरिएको छ । केही स्थानीय तहमा राजमार्गको २ किलोमिटर कफ्र्यु जारी गरिएको छ ।