विजयपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।


बिहीबार सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नेपालीलाई अपिल गरेका हुन् । निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वराजा शाहले देशमा विकसित असहज परिस्थितिप्रति चिन्ता व्यक्त गरेको उल्लेख छ । कुनै पनि प्रकारको हिंसा र द्वन्द्वले नेपाली समाजको मौलिक मूल्य तथा राष्ट्रिय एकतालाई कमजोर पार्ने उल्लेख गरिएको छ ।


सन्देशमा नेपाल निर्माणको सुरुवातदेखि नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू आपसी सद्भाव र सहअस्तित्वका साथ बस्दै आएको उल्लेख गरिएको छ । यही विविधतामा रहेको एकता नै नेपालको विशिष्ट पहिचान भएको र यसलाई जोगाउनु सबै नेपालीको साझा दायित्व रहेको पूर्वराजा शाहको भनाइ छ ।


उनले सुनसरीका गाउँबस्तीहरूमा भएको आपसी विवाद तथा हिंसाका कारण जनधनको क्षति भएको र त्यसको प्रभाव कोशी प्रदेशका अन्य क्षेत्र तथा तराईसम्म फैलिँदा जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गरेका छन् । पूर्वराजा शाहले अवाञ्छित घटनाहरू नेपाली समाजको मौलिक मूल्य, संस्कृति र सहिष्णुताको भावना विपरीत रहेको उल्लेख गरेका छन् ।


सन्देशमार्फत उनले देशका सबै नागरिकलाई संयम अपनाउन, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र आपसी भाइचारालाई अझ बलियो बनाउन आग्रह गरेका छन् । पूर्वराजा शाहले वर्तमान परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै शान्ति, सहिष्णुता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।