विजयपुर । मोरङको विराटनगर विमानस्थलबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–५ का २४ वर्षीय सुशान्त खड्कालाई विमानस्थलबाट ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
प्रहरीले जनाए अनुसार विमानस्थलको प्रस्थान कक्षमा सुरक्षामा खटिएको टोलीले एक्स–रे मेसिनमार्फत कार्गो सामान जाँच गर्ने क्रममा शंकास्पद वस्तु फेला पारेको थियो । जाँचका क्रममा विराटनगर–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत राघव झाको नाममा काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताको सोलभित्र प्लास्टिकमा पोको पारेर लुकाइराखिएको १८ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो । घटनासँग सम्बन्धित खड्कालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैँचा नगरपालिका–१० निवासी ५६ वर्षीय बलबहादुर राईको घरमा खानतलासी गरेको थियो । तलासीका क्रममा भान्साकोठामा लुकाइराखिएको एक थान भरुवा बन्दुक तथा गोठमा लुकाइराखिएको १ किलो ५ सय ग्राम गाँजा बरामद भएपछि राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राईमाथि अवैध हातहतियार तथा लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।