विजयपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख निर्वाचन आयुक्तसहित दुई निर्वाचन आयुक्त नियुक्त गरेका छन् ।


बिहीबार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त तथा दुई जना निर्वाचन आयुक्त नियुक्त गरेका हुन् ।


राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा संवैधानिक परिषद्को सिफारिसका आधारमा मोरङका मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको उल्लेख गरिएको छ । त्यस्तै, ओखलढुंगाका गुरुप्रसाद वाग्ले र काठमाडौंका डा. राजीव सुब्बा निर्वाचन आयुक्तमा नियुक्त भएका छन् ।


संविधानको धारा २४५ अनुसार निर्वाचन आयोगमा एक जना प्रमुख निर्वाचन आयुक्त र आवश्यक संख्यामा निर्वाचन आयुक्त रहने व्यवस्था छ । उनीहरूको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था रहेको छ ।


यसअघि प्रमुख निर्वाचन आयुक्तको पद रिक्त रहेपछि आयोगको नेतृत्व पूर्ण हुन सकेको थिएन । नयाँ नियुक्तिसँगै आयोगले आगामी निर्वाचनको तयारी, मतदाता नामावली व्यवस्थापन, निर्वाचनसम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन, राजनीतिक दलसँग समन्वय, निर्वाचन आचारसंहिता कार्यान्वयनलगायतका संवैधानिक जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।