विजयपुर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कफ्र्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको छ ।


प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको कफ्र्यु आदेश शनिबार बिहान ८:३० बजेदेखि हटाइएको हो । पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै कफ्र्यु हटाइए पनि शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।


प्रशासनका अनुसार निषेधाज्ञा लागू भएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न प्रतिबन्ध लगाइएको छ ।


निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ तथा रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र समावेश छन् ।


प्रशासनले निषेधाज्ञाको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै आदेश उल्लङ्घन गर्ने जो–कोहीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । साथै नागरिकलाई संयमित रहँदै शान्ति, सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सहयोग गर्न अनुरोध गरिएको छ ।