विजयपुर । संखुवासभा र मोरङका सामुदायिक वन क्षेत्रबाट प्रहरीले चार थान भरुवा बन्दुकसहित बारुद बरामद गरेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भिरमा रहेको ओडारबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो । यस्तै, एक थान सलाईको बट्टा र ५० ग्राम सलाईको बारुद पनि बरामद गरिएको छ । अस्थायी प्रहरी पोस्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा खोजतलास गर्दा प्लास्टिकले बेरेर लुकाइराखिएको अवस्थामा उक्त सामग्री फेला पारेको जनाएको छ ।
यस्तै, मोरङको उर्लाबारी नगरपालिका–१ स्थित जनज्योति सामुदायिक वन क्षेत्रमा गस्तीका क्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बोराभित्र लुकाइएको एक थान भरुवा बन्दुक बरामद गरेको छ । सोही स्थानबाट बन्दुकमा प्रयोग हुने १३ थान धातुका किट तथा ४५ ग्राम ८८० मिलिग्राम बारुद पनि फेला परेको प्रहरीले जनाएको छ ।
बरामद हतियारका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, हतियारको स्रोत र यसमा संलग्न अन्य व्यक्तिको खोजीसमेत जारी रहेको प्रहरीले बताएको छ ।