विजयपुर । नेपाल बार एशोसिएशनले सुनसरीको देवानगञ्ज गाउँपालिकामा साउन १० गते भएको घटनाको निष्पक्ष अध्ययन तथा तथ्य संकलन गर्न नागरिकस्तरीय अध्ययन समिति गठन गरेको छ ।


नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष पदम प्रसाद लिम्बुको संयोजकत्वमा ११ सदस्यीय अध्ययन समिति गठन गरिएको हो । समितिमा पत्रकार महासंघका प्रतिनिधि, कानुन व्यवसायी, मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको छ ।


समितिलाई घटनास्थलमा पुगेर प्रत्यक्ष अध्ययन गर्ने, पीडित, स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग छलफल गरी घटनाको वास्तविक अवस्था, कारण र प्रभावबारे तथ्य संकलन गर्ने जिम्मेवारी दिइएको छ । साथै, अध्ययनबाट प्राप्त निष्कर्षसहितको प्रतिवेदन नेपाल बार एशोसिएशनसमक्ष पेश गर्ने कार्यादेश पनि समितिलाई दिइएको छ ।


नेपाल बार एशोसिएशनले देवानगञ्ज घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र र निष्पक्ष अध्ययन आवश्यक रहेको जनाएको छ ।


समितिले आफ्नो अध्ययन कार्य सुरु गरिसकेको छ। अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक सुझावसहितको प्रतिवेदन पेश गरिने समितिका संयोजक पदम प्रसाद लिम्बुले जानकारी दिए ।