विजयपुर । सुनसरीका विभिन्न स्थानमा उद्योगी, व्यवसायी तथा सामाजिक संघसंस्थाहरूको सहभागितामा सामाजिक सद्भाव र्याली निकालिएको छ ।
आइतबार सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरानमा सामाजिक सद्भाव ¥याली आयोजना गरिएको हो । र्यालीमा मदिरा व्यवसायी संघ, विभिन्न वस्तुगत संघ तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । ‘सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गरौँ’ भन्ने नारासहित निकालिएको र्याली भानुचोकबाट सुरु भई छाताचोक, सिंहदेवी चोक, माछाभौडी हुँदै पुनः भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा धरान उपमहानगरका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे । उनले पारस्परिक सम्मान र सहअस्तित्व नै समाजको पहिचान भएकाले असहिष्णुतालाई संयम र सद्भावका माध्यमबाट पराजित गर्नुपर्ने बताए ।
यस्तै, इटहरीमा पनि सामाजिक सद्भाव र्याली आयोजना गरिएको छ । उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा भएको र्यालीमा नेपाली मुस्लिम समाज, रेडिमेड व्यवसायी संघलगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।