विजयपुर । हरिनगर गाउँपालिकाले देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाबाट प्रभावित भएका नागरिक तथा संस्थाहरूलाई सात दिनभित्र क्षतिको विवरण पेश गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले सार्वजनिक सूचनाअनुसार घटनाका कारण हरिनगर गाउँपालिका क्षेत्रभित्र धार्मिक, सांस्कृतिक तथा सार्वजनिक सम्पत्तिका साथै मानवीय र निजी भौतिक सम्पत्तिमा क्षति पुगेको भए आवश्यक प्रमाणसहित गाउँपालिकामा निवेदन दिन अनुरोध गरेको छ ।
सूचनामा क्षतिको विवरणसहितको निवेदन, प्रहरी मुचुल्का (भएको भए) को प्रमाणित प्रतिलिपि तथा फोटो, भिडियोलगायतका प्रमाणहरू पेश गर्नुपर्ने उल्लेख गरिएको छ । गाउँपालिकाले प्राप्त विवरणका आधारमा क्षतिको यथार्थ अभिलेखीकरण तथा आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ । प्रभावित सबैलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन दर्ता गर्न गाउँपालिकाले आग्रह गरेको छ ।