सिरहा (ब्लाष्ट) लहान नगरपालिका–२२ सलोखरीबाट एक थान पेस्तोल र उक्त पेस्तोलमा लाग्ने एक थान म्याग्जिनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका २० वर्षीय सबरजीत दास, २० वर्षीय गुरुदेव दास र १९ वर्षीय सञ्जय दास रहेका छन् । उनीहरूलाई मङ्गलबार राति पक्राउ गरेको हो । प्रहरी चौकी सीतापुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । बुधबार बिहान ११ः४५ बजेतिर वन क्षेत्रमा चोरी निकासी हुने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उक्त बन्दुक बरामद गरेको थियो ।
प्रहरी टोलीले गस्ती गर्ने क्रममा केही शङ्कास्पद व्यक्तिहरू फरार भएका थिए । उनीहरूले प्लाष्टिकको बोरा छाडेर भागेपछि उक्त बोरा जाँच गर्दा दुई थान भरुवा बन्दु बरामद गरिएको हो । उक्त बन्दुकमा प्रयोग हुने दुई थान फलामको टुक्रा पनि बरामद गरेको जनाएको छ । बरामद हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ भने फरार व्यक्तिहरूको खोजी कार्य भइरहेको जनाइएको छ ।